निर्वाचनपछि गठबन्धनको सरकार बन्छ : मन्त्री कार्की

मुख्य समाचार राजनीति

सञ्चार तथा सूचना प्रविधि ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गतेको निर्वाचनपछि सत्तारुढ गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ लोकतान्त्रिक–वाम गठबन्धनको सम्पर्क कार्यालयको आज उद्घाटन कार्यक्रममा उहाँले निर्वाचनबाट सत्ता गठबन्धनको दुई तिहाइ बहुमत आउने र गठबन्धनकै सरकार बन्ने दाबी गर्नुभयो ।

प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नम्बर ४ का लोकतान्त्रिक वाम–गठबन्धनका उमेदवारसमेत रहनुभएका मन्त्री कार्कीले जनताले चाहेको विकास र समृद्धिको अभिलाशालाई कांग्रेस नेतृत्वको गठबन्धन सरकारले पूरा गर्ने विश्वास दिलाउनुभयो । सामाजिक एकता र सद्भाव अभिवृद्धि नगरी राष्ट्रिय एकता सम्भव नहुने बताउँदै उहाँले देशमा राजनीतिक स्थिरता आवश्यक भएकाले त्यसका लागि गठबन्धनको सरकार आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

उहाँले सुनसरी खोलामा वर्षेनी आउने बाढीका कारण स्थानीयवासी सधैँ डुबान, कटानको समस्याबाट पीडित भएकाले त्यसको दीर्घकालीन समाधानका लागि बाँध निर्माणका लागि सरकारले बजेट विनियोजन गरिसकेको बताउनुभयो । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट प्रदेशसभा ४(२) का उमेदवार हाजी इसराइल मंसुरीलगायतका पार्टीका नेता तथा कार्यकर्ताले सम्बोधन गर्नुभएको थियो ।