राजा सहितको प्रजातन्त्र पूनस्थापना गर्ने राप्रपाको प्रमुख लक्ष्य हो

विचार/अन्तर्वार्ता

उद्धव थापा
प्रदेश सभा सदस्य, राप्रपा उम्मेदवार
काठमाण्डौं क्षेत्र नं. ८ (ख)

तपाई प्रदेश सभा सदस्यमा काठमाण्डौं क्षेत्र नं. ८(ख) मा राप्रपाबाट उम्मेदवार बन्नु भएको छ । कस्तो अनुभव गर्नु भएको छ ?

यो मेरो लागि अवसर हो । पार्टीले विश्वास गरेर टिकट दिएर प्रदेश सभा सदस्यमा उठ्ने मौका दिएको छ । यसबाट, म जस्तै पार्टीका नेता, कार्यकता, शुभचिन्तक सहित मेरो सम्पर्क र सम्बन्ध भएका सबै साथी भाई आफन्तहरु खुसी भएका छन् । खास गरी मलाई टिकट दिन जिल्ला, क्षेत्र, प्रदेशसहित सम्बन्धित सबै तहबाट सिफारिस भएर आएकाले यस क्षेत्रमा पार्टीको म सर्वसम्मत उम्मेदवार हँु ।

तपाई यस क्षेत्रमा जित्ने आधारहरु बताइ दिनुस् न ?

नागार्जुन नगरपालिका ४ र ५ (साविक सितापाइला गाविस) र काठमाण्डौं महानगरपालिकाको वडा १५ मात्र भएको यो प्रदेश सभा क्षेत्र हो । २०५४ सालको निर्वाचनमा सितापाइला गाविसमा उम्मेदवार भई निकटतम प्रतिद्वोन्द्वी भएर धेरै मत ल्याएर पराजित भएको, २०७४ मा पनि नागार्जुन नगरपालिकाको मेयरको उम्मेदवार भएको जसमा यहि क्षेत्रमा पर्ने साविकको इचन्गु, सितापाइला रामकोटमा अत्याधिक मत आएको छ । गत स्थानीय निर्वाचनमा नागार्जुन नगरपालिकाको वडा नं. ५ मा राप्रपाले अत्याधिक बहुमतले विजयी प्राप्त गरेको र अन्य २ वडामा पनि राम्रो मत आएको र यहाँ राप्रपाको राम्रो संगठन रहेकाले यस क्षेत्रमा म अरु उम्मेदवार भन्दा बलियो दावेदार हुँ । म यो क्षेत्रमा नयाँ अनुहार होइन । यहाँका विभिन्न संघ संस्थामा रहेर निरन्तर काम गरिरहेको छु । म कुनै पनि हिसाबले निष्कलंकित भएका कारण र अरु पार्टीप्रति जनवितृष्णा फैलिरहेको कारण राप्रपाले चुनाव जित्दने आधार बनेको छ । म जनतामा भिजेको उम्मेदवार हुँ ।

तपाई कुन कुन एजेण्डा लिएर जनतामाझ जाँदै हुनुहुन्छ ?

राजा सहितको प्रजातन्त्र पूनस्थापना गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसदका लागि, प्रदेश खारेज गरि दुई तहको सरकार स्थापना गर्ने, सम धर्म, समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैधिक सनातन हिन्दु राष्ट्र पूनस्थापना गर्ने, धर्म, संस्कृति र परम्परा संरक्षण गर्ने, गुठी परम्पराको संरक्षण गर्ने राप्रपाको प्रमुख एजेण्डा हुन् । यसै गरी मेरा अन्य एजेण्डामा यस क्षेत्र भित्रका धार्मिक, ऐतिहासिक, पुरातात्विक सम्पदाहरुको पहिचान र संरक्षण गर्ने, शिक्षा र स्वास्थ्य जनताको अधिकारको रुपमा स्थापित गर्ने, स्वरोजगार, युवा उद्यमी, एक घर एक रोजगारको व्यवस्थाको पहल गर्ने, नीतिगत निर्माणमा जनताको सहि प्रतिनिधित्व गर्ने रहेका छन् । यसै गरी हामीले जितेपछि गर्ने अन्य एजेण्डामा जनप्रतिनिधि जनताको सेवक हो भन्ने स्थापित गर्ने, पूर्वीय संस्कृति, पूर्वीय दर्शन बमोजिम समाज प्राथमिकतामा राख्ने, विभिन्न जातजाति, भाषा, धर्मको संरक्षण गर्दै संस्कृत र नैतिक शिक्षा विद्यालय तहमा अनिवार्य गर्ने, भ्रष्टाचार विरोधी अभियान सशक्त बनाई सुशासन कायम गर्ने, जनताको चाहना, आवश्यकता, स्थानीय भावना बमोजिमको विकास निर्माण सेवा, सुविधा जनताको नैसर्गिक अधिकार हो भन्ने स्थापित गर्ने र निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा राज्यको शिक्षा, सामाजिक सुरक्षामा राज्यको दायित्व कायम गर्ने रहेका छन् ।

जनताले राप्रपालाई नै किन मत दिने ?

जनताले राप्रपाले लिएको एजेण्डा संवैधानिक राजसंस्था, सनातन वैद्धिक हिन्दु राष्ट्र र संघीयताको खारेजी गर्ने यी लोकप्रिय एजेण्डाको कारण र हाम्रा अध्यक्ष राजेन्द्र लिङदेनले एक रुपैयाँ घुस खानु भएको आमाको रगत खानु सरह हो भन्नु भएको छ, यो प्रतिबद्धताका कारण आम मतदाता को राप्रपाप्रति आकर्षण बढिरहेको छ । मलाई लाग्छ, मतदाताले राप्रपालाई छाडेर अन्त मत देलान् जस्तो लाग्दैन ।
ठूला दलका उम्मेदवारसँग तपाईको प्रतिस्पर्धा हुँदैछ । उनीहरुको माझबाट जित्न यस क्षेत्रका मतदाताहरुलाई कसरी विश्वास दिलाउनु हुन्छ ?
ठूला दलका कर्म र योग्य व्यक्तिहरुले टिकट नपाएर चौथो पाँचौ व्यक्तिहरुले टिकट पाएको कारणले, प्रमुख दलका उम्मेदवारहरुको लागी उम्मेदवार भएकाले र हाम्रो सुस्पष्ट विचार र अलगैँ पहिचानसहित म सर्वसम्मत उम्मेदवार भएकाले मैले यो क्षेत्रमा जित्दैछु ।

यस क्षेत्रमा राप्रपाको अन्य दलसँग चुनावी तालमेल छ ?

राप्रपाका अन्य दलसँग तालमेल छैन । त्यसैले धेरैभन्दा धेरै मतदाताको साथ र सहयोगले हामी यहाँ बलियो छौँ ।
राप्रपाले यो क्षेत्रलाई राम्रो क्षेत्रका रुपमा लिएको छ, मतदाताको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
हामीप्रति मतदाता सकारात्मक छन् । यस पटक हामी मत बदल्छौं भनिरहेका छौं । यो हाम्रो अभियान व्यापक साथ र सहयोग मिलिरहेको छ ।

अन्तमा मतदातालाई सन्देश दिनुस् न ?

तिस वर्ष देखि जितेर गएका नेताहरुबाट जनताले जे भोगिरहनु भएको छ, त्यो भन्दा प्रत्यक्ष रुपमा जनतासँग सम्पर्क र समन्वय गरि काम गरेर देखाउने हाम्रो प्रतिवद्धता छ । त्यसैले आमा बुवा, दाजुभाई दिदीबहिनीसहित आम मतदाताहरुमा यस पटक हलोमा मतदान गरी मलाई अत्याधिक मतले विजय गराइदिनु हुन अनुरोध गर्दछु ।