जनआन्दोलनका घाइते तथा शहीद परिवारको गुनासो

मुख्य समाचार समाचार

काठमाडौँ, १६ माघ । जनआन्दोलनका घाइते तथा शहीद परिवारले राज्यले आफूहरुलाई बेवास्ता गरेको गुनासो गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा २०६२÷०६३ को जनआन्दोलनका शहीद यमलाल लामिछानेका छोरा द्रोणप्रसाद लामिछानेले राज्यले आफूहरुलाई नसम्झिएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हाम्रा अभिभावकले ज्यानको आहुति दिए तर, राज्यले हामीलाई कहिल्यै सम्झिएन् ।” शहीद गोविन्द शर्माकी धर्मपत्नी भगवती शर्माले आन्दोलनमा शहादत प्राप्त गर्ने र घाइते जिउँदा शहीदले राज्यबाट कुनै सम्मान नपाएको गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, “‘नेता तथा कार्यकर्ताले अन्तर्राष्ट्रियस्तरको सुविधा लिने तर आन्दोलनमा ज्यान गुमाउने शहीद परिवारले केही पनि पाएनन् ।”

शहीद वासुदेव घिमिरेकी धर्मपत्नी सुनिता घिमिरेले सरकारले आफूहरुको पीडा नसुनेको गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, “ शहीदकै कारण आज यत्रो परिवर्तन आयो तर, सरकारले हामीलाई कुनै वास्ता गरेको छैन ।” शहीद चन्द्रबहादुर बयलकोटीकी धर्मपत्नी कल्पना बयलकोटीले मुलुकमा परिवर्तनको लागि आफ्नो श्रीमान्ले जीवन नै आहुति दिएको र आफ्नो सिउँदो पुछिएको सुनाउँदै राज्यले आफूहरुलाई अहिलेसम्म खासै वास्ता नगरेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “राज्यले हाम्रा बालबालिकाहरुलाई टुहुरो बनायो, राज्यले शहीद सप्ताह मनाउँदै गर्दा हामीलाई सम्झिएन, धेरै दुःख लागेको छ ।”शहीद ताहिर अली अन्सारीका छोरा अस्गर अली अन्सारीले राज्यले निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा २०६२÷६३ को जनआन्दोलनका घाइते मेघराज आचार्यले आफू मृत्युले छोडेको व्यक्ति भएको सुनाउँदै नेपालीले खाएको प्रत्येक गाँसमा र फेर्ने प्रत्येक श्वाशमा शहीदको मूल्य रहेको बताउनुभयो । अर्का घाइते सुनिल भट्टराईले राज्यले पछिलो समय हचुवाको भरमा शहीद घोषणा गर्दा वास्तविक शहीदको अपमान भएको बताउनुभयो ।