गोरखा, १८ माघ । गण्डकी प्रदेशका कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले पशुपन्छीको विकास लागि प्रदेश सरकारले नस्ल सुधारको कार्यक्रम अगाडि बढाएको बताउनुभएको छ ।
गोरखा नगरपालिका–११ स्थित बाह्रकिलोमा प्रदेश सरकारअन्तर्गत स्थापना भएको कृत्रिम गर्भाधान केन्द्रको आज उद्घाटन गर्दै मन्त्री थापाले भन्नुभयो, “आगामी ५ वर्षभित्रमा सरकारले प्रदेशलाई दूध, मासु लगायतमा कृषिजन्य उत्पादनमा आत्मानिर्भर बनाउने लक्ष्य लिएको छ ।”
गण्डकी प्रदेशमा मासु, दूधलगायत आयात गर्नु नपर्ने अवस्थाको सृजना गर्न प्रदेश सरकार लागिपरेको मन्त्री थापाले बताउनुभयो । कृषि सहकारी, कृषि समूह र कृषि फर्महरुमार्फत सामूहिक खेती प्रणालीको विकास गर्न प्रदेश सरकारले कृषि क्षेत्रका लागि अनुदानका कार्यक्रमसमेत ल्याएको मन्त्री थापाको भनाइ छ ।
