स्वागत गरियो इस्वी संवत्को नयाँ वर्ष २०२३ लाई

मुख्य समाचार समाचार

विश्वभर धुमधामसाथ मनाइने इस्वी संवत्को नयाँ वर्ष २०२३ नेपालका मुख्य सहरमा भेला भएर एकापसमा शुभकामना आदानप्रदान गरी खुसियालीका साथ मनाइएको छ ।

गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२३ सुरु भएको छ । यस अवसरमा शुक्रबार बेलुकीदेखि नै मानिसहरू नयाँ वर्ष मनाउन भेला भएका थिए ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुआत भएको भन्ने भनाइ छ । पोप गे्रगोरीले जुलियन पात्रोअनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले दुई सय वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउनुहुन्छ ।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । विश्वका मुख्य मुख्य काम इस्वी संवत्अनुसार नै गरिन्छ ।

केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । यी स्थानमा आज पनि धेरै मानिस जम्मा भएर नयाँ वर्ष मनाएका छन् । विभिन्न देशबाट भ्रमणका क्रममा नेपाल आएका विदेशी नागरिक पनि नयाँ वर्ष मनाउने कार्यक्रममा सरिक भएका थिए ।

राजधानीका ठमेल, नयाँसडक, बौद्ध, स्वयम्भूलगायत स्थानमा आज बेलुकीसम्म पनि नयाँ वर्षमा रमाउनेको भीड देखिन्छ ।