सिरियल किलर दम्पतीः प्रहरीको फन्दामा

समाचार

लुम्बिनीका तीन जिल्लाका तीन महिलाको हत्या गर्ने भारतीय ‘सिरियल किलर’ लाई प्रहरीले पक्राउ गर्न सफल भएको छ  चार महिनाको अन्तरमा कपिलवस्तु, गुल्मी र अर्घाखाँचीमा महिलाका गरगहना र धनमाल लुट्न श्रृङखलाबद्ध हत्या गर्ने भारतीय नागरिक सुशान्त सिंह र उनीकी पत्नी शिवा परियारलाई अर्घाखाँची प्रहरीले विशेष अपरेशन गरी पक्राउ गरेको हो । सिंह पत्नी शिवा अर्घाखाँची शीतगंगा नगरपालिका वडा नम्बर १० निवासी हुन् । २३ वर्षीया सिंह भारतको गुडगाउँ हरियाणाका रहेका प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सिंह दम्पतीले पुस १७ गते अर्घाखाँचीको शीतगंगा नगरपालिका–१० बोखरकी ६० वर्षीया राधा थापा, गएको कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीया जीवकला थापा र गएको असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ७० वर्षीया योगमाया गैरेको समेत हत्या गरेका थिए । अर्घाखाँची प्रहरी प्रमुख मुकुन्दप्रसाद रिजालले विशेष अनुसन्धानबाट उनीहरूलाई पक्राउ गर्न सफल भएको बताए ।​
सुशान्तले श्रीमतीसँग मिलेर श्रृंखलाबद्ध हत्या गरेको खुलेपछि उनकी श्रीमती शीतगंगा नगरपालिका–१० सिद्धाराकी २२ वर्षीया शिवालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । सिंहले ३ वर्षअघि परियारसँग विवाह गरी कपिलवस्तुमा कोठा भाडामा लिएर बस्दै आएको खुलेको छ । थापाको हत्या गर्न श्रीमानलाई सघाएको र योजना बनाउन सहयोग गरेको परियारले प्रहरीलाई बयान दिएकी छन् ।

अर्घाखाँचीमा तेस्रो पटक महिलाको हत्या गरी भाग्ने क्रममा प्रहरीले सिंह दम्पतीलाई पक्राउ गरेको हो । पक्राउ गरी अनुसन्धान गर्दा सिंहले तीन वटै घटनामा आफ्नो संलग्नता रहेको प्रहरीसमक्ष स्विकारेका हुन् । यही पुस १७ गते शीतगंगा-१० बोखरकी ६० वर्षीया राधा थापालाई दूध लिन जाने क्रममा बाटोमा ढुकेर हत्या गरेका थिए। थापालाई ढुंगा र हँसिया प्रहार गरी हत्या गरी जंगलको खोल्सामा फालेर गहना लिएर भागेका थिए । शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तत्काल घटनास्थल पुगेको प्रहरीले शंकास्पद व्यक्तिको खोजी गरेको थियो । हत्यारा खोज्दै जाँदा शीतगंगा-११ स्थित मुद्रेबास जंगलमा लुकेर बसेको अवस्थामा सुशान्त र शिवा पक्राउ परेका हुन् । यो घटना कपिलवस्तु र गुल्मीमा भएको वृद्धा हत्याकै घटनासँग मिल्दोजुल्दो देखिएकाले प्रहरीले अनुसन्धान बढाएको थियो ।

त्यस्तै गएको असोज १४ मा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ विजयनगरकी ७० वर्षीया योगमाया गैरेको पनि सुशान्तले नै हत्या गरेको पुष्टि भएको छ । सुशान्त दम्पतीले योगमायाको हत्या गरी गहना लुटेर भारत गएको प्रहरीलाई बयान दिएका छन् । सिंहले गएको कार्तिक २८ मा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीया जीवकला थापालाई पनि घरमै पुगेर हत्या गरी गहना लुटेर भागेको खुलेको छ ।

जीवकला घरमा एक्लै रहेको भिडियो युट्युबमा हेरी सिंह गुल्मी पुगेको बताएका छन् । घरमा छोराछोरी कोही नभएको र श्रीमानको मृत्यु भइसकेको थाहा पाएर घरमा पुगेका सिंहले उनको घाँटी थिची हत्या गरी सुनका गरगहना लुटी भागेको प्रहरी निरीक्षक पौडेलले बताए ।

थापाको जीवनकथा एउटा युट्युब च्यानलमार्फत सार्वजनिक भएको थियो । ‘तीनवटै घटनामा गहनाकै लागि सिंहले हत्या गरी भागेको खुलेको छ । विभिन्न माध्यमबाट एकल महिला भएको पत्ता लगाउने र योजना बनाएर हत्या गर्दै गहना लुट्ने गरेको अनुसन्धानबाट देखियो’ प्रहरी निरीक्षक पौडेलले भने । यसरी लगातार एउटै प्रकृतिका घटनामा सिंह दम्पती मात्रै संलग्न छन् कि अरू गिरोह नै छ भन्नेबारे थप अनुसन्धान भइरहेको उनले बताए ।