देशभरि बर्सात, उच्च भूभागमा हिमपात

मुख्य समाचार राजनीति समाचार

सोलुखुम्बु । सोलुखुम्बुसहित पूर्वीपहाडी जिल्लाको अधिकांश उच्च भूभागमा बर्सातसँगै हिमपात भएको छ । बुधबारदेखि बदली भएको मौसममा आज पनि सुधार आउन नसक्दा उच्च भूभागमा हिमपात भएको छ भने सल्लेरीसहितका तल्लो भूभागमा तीव्र गतिमा हावा चलेको छ ।

सल्लेरीबाट देख्न सकिने डाँडाकाँडा हिउँले सेताम्य भएको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ । जनजीवन कष्टकर भए पनि पानी र हिमपात भएका कारण किसान भने हिउँदे बाली सप्रने भन्दै खुशी भएका छन् । माघमा परेको पानी बालीनालीका लागि निक्कै राम्रो हुने थुलुङदूधकोशी–७ का कृषक रिद्धिबहादुर केसीले बताउनुभयो । केसीले भन्नुभयो, “पानी प-यो, वस्तुभाउ, बूढाबूढी, केटाकेटी प्रभावीत भए पनि किसानका लागि हर्षको कुरा हो ।” मौसम विभागले शनिबारसम्म देशभरिको मौसम बदली हुने मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो ।

टेलिफोन सेवा अवरुद्ध

हावाहुरीका कारण जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ । दिउँसो आएको हावाहुरीले सोलुखुम्बुको पत्तालेस्थित नेपाल टेलिकमको एन्टेनामा असर पारेपछि फोन सेवा प्रभावित भएको नेपाल टेलिकम सल्लेरीका प्रमुख श्याम कठायतले जानकारी दिनुभयो ।

हावाहुरीका कारण टेलिकमको ल्याण्डलाइन, नमस्ते, स्काईलगायत टेलिफोनमा टावर आउने जाने भइरहेको छ । नेटवर्क देखाउने गरे पनि फोन सम्पर्क नहुने सेवाग्रही सृजना खत्रीले बताउनुभयो ।

जिल्ला सदरमुकाम क्षेत्रको मुख्य टावर रहेको पत्तालेमा हिमपात तथा तीव्र गतिको हावाका कारण सम्पर्कविच्छेद भएको हो । मर्मतपश्चात् मात्र फोन सेवा सञ्चालन हुनसक्ने सल्लेरी प्रमुख कठायतको भनाइ छ ।

एफएम रेडियो प्रभावित

हावाहुरीका कारण सल्लेरी च्याल्सा विद्युत् कम्पनीको सेवासमेत प्रभावित बनेको छ । जिल्ला सदरमुकामसहित आसपासका करीब एक हजार ६०० घरधुरीलाई विद्युत् सेवा प्रदान गर्दै आएको कम्पनीको सेवा आज दिनैभरि प्रभावित बनेको हो । विद्युत् आउने–जाने भएपछि यहाँ सञ्चालित एफएम रेडियोको सेवासमेत प्रभावित बनेको सञ्चारमाध्यमले जनाएको छ ।

हिमपातले कर्णालीमा पानीको बहाव घट्यो
लगातार हिमपात भएपछि जिल्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिकाको तुम्कोटस्थित कर्णाली नदीमा पानीको बहाव घटेको छ । नाम्खा गाउँपालिका– ६ लिमीबाट कर्णालीमा पानीको बहाव घटेको प्रहरी नायब उपरीक्षक रबिनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “के कति कारणले पानीको बहाव घटेको हो, कुनै जानकारी छैन”, उहाँले भन्नुभयो । उहाँले यसबारे मुचु–६ तुम्कोटस्थित प्रहरी चौकीमा कार्यरत प्रहरीसँग जानकारी लिने काम भइरहेको बताउनुभयो । “बाक्लो हिमपातका कारण पानीको बहाव घटेको हुनसक्छ”, श्रेष्ठले भन्नुभयो ।
हावाहुरीले छात्रवासको छाना उडायो
जिल्लामा बिहीबार रातिदेखि चलेको हावाहुरीले सिमकोटस्थित सहारा समूहको छात्रवासको छानो उडाएको छ । छात्रवासमा ५७ फरक क्षमता भएका बालबालिका बसोबास गर्दै आएका छन् । हावाहुरीले १२ कोठे भवनको छाना उडाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले हिउँ पन्छाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । यस्तै हावाहुरीले मानसरोवर माविको छानोसमेत उडाएको प्रधानाध्यापक अमरबहादुर शाहीले बताउनुभयो ।
रातले छेकेन दामनमा हिउँ खेल्न
भारी वर्षासँगै मकवानपुरको उच्च पहाडी क्षेत्रमा अहिले साँझदेखि हिमपात भएको छ । मकवानपुरको उच्च पहाडी क्षेत्र दामन, सिमभञ्ज्याङलगायतका भूभागमा हिमपात भएको हो । हिमपात अघि त्यस क्षेत्रमा ठूलो असिना पानी परेको थियो । हिमपात भएसँगै पर्यटकीय क्षेत्र दामन पुगेको पर्यटक तथा स्थानीय हिउँ खेलेर रमाइरहेका छन् ।

पहिलोपटक दामन पुग्ने बित्तिकै हिउँ खेल्न पाउँदा निकै आनन्द लागेको त्यहाँ पुग्नुभएका सर्जिकल एशोसिएशन अफ नेपालका अध्यक्ष रमन कायस्थले बताउनुभयो । यस वर्ष दामनमा चौथो पटक हिउँ परेको एभरेष्ट पानारोमा होटलका कर्मचारी तुलसी घिमिरेले बताउनुभयो । दुई दिनदेखिको बद्लीसँगै दामनलगायत उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना देखेपछि राजधानीबाट थुप्रै पर्यटक हिउँ खेल्न भनेर दामन पुगेका छन् । दामनमा हिउँ खेल्ने पर्यटकको भीडनै लागेको छ । दामन पुगेका पर्यटक रात परे पनि हिमपात भएपछि रातको प्रवाह नगरी होटलको आँगन, सडकमा निस्केका छन् ।