नेपाली कांग्रेसका गान्धीवादी नेता स्व महेन्द्रनारायण निधिको १०१औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
त्यस अवसरमा आज नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं ३ धनुषाको आयोजनामा भएको एक समारोहमा नेताहरुले गान्धीवादी नेता स्व निधिकै सपनाअनुसार बिपी कोइरालाले पनि मेलमिलाप र अहिंसाको बाटो अंगालेको बताउनुभयो । उहाँहरुले पछिल्लो समय पनि नेता निधिको विचार, निष्ठा र आदर्शको औचित्य कायमै रहेकाले सामाजिक न्यायका पक्षधरले त्यसलाई अङ्गिकार गरेर जानुपर्ने धारणा राख्नुभयो ।
नेपाली कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य रामसरोज यादवले मानवाधिकार, लोकतन्त्र, समाजवाद र सामाजिक न्यायका पक्षपाती निधिकै आग्रहमा संस्थापक नेता कोइरालालगायतका नेता मिलमिलापको नीतिसहित नेपालमै बसेर तत्कालीन व्यवस्थाविरुद्ध लड्न तयार भएको स्मरण गर्नुभयो । उहाँले स्व निधिको आर्दश र सिद्वान्त अनुशरण गर्न छाड्नु कांग्रेसका लागि दुर्भाग्य हुने भन्दै सबै नेता कार्यकर्ताले उहाँको विचारलाई अनुशरण गर्दै अगाडि बढ्न जरुरी रहेको धारणा राख्नुभयो ।
पूर्वसांसद स्मृतिनारायण चौधरीले स्व नेता निधि सधैँ अनुशासन, नीति, नियम र असल आचरणको पर्याय भएकोले त्यसलाई शीरोधार्य गर्नु आजको आवश्यकता भएको बताउनुभयो । नेपाली कांग्रेस मधेस प्रदेशसभाका प्रमुख सचेतक कुमरकान्त झा, जनकपुरधामका पूर्व नगरप्रमुख बजरङ्गप्रसाद साह, नेता जगतसुन्दर साह, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष अनिल कर्ण लगायतले स्व निधिको व्यक्तित्वमाथि चर्चा गर्नुभएको थियो ।
