भक्तपुर, ३ फागुन । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा जनताले परिवर्तन र राहतको महसुस गर्ने गरी उपलब्धि मूलक काम गर्न नसकेको आरोप लगाउनुभएको छ । काङ्ग्रेस भक्तपुरले आज मध्यपुरथिमिको शंखधर चोकमा आयोजना गरेको विरोधसभामा उहाँले सरकारले एक वर्षको अवधिमा जनतालाई करको भार मात्रै बढाएको बताउनुभयो ।
जनताको पक्षमा सरकारले कुनै काम गर्न नसकेको आरोप लगाउँदै सभापति देउवाले दुई तिहाइको आडमा सरकारले अप्रजातान्त्रिक गतिविधीहरु गरिरहेको जिकिर गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “देशमा हत्या, हिंसा, बलात्कारका घटना बढेपनि दोषीलाई कारवाही गर्न सरकारले सकेको छैन, यस्ता घटना नियन्त्रण गर्न पनि सरकार असफल भयो सरकारले चाहे निर्मला हत्या काण्डका दोषीलाई पक्राउ गर्न सक्छ तर सरकारले चाहेन ।”
कार्यक्रममा नेता प्रकाशमान सिंहले सरकारले जनताले मूल्याङ्कन गर्न मिल्ने गरी सरकारले कुनै काम गर्न नसकेको आरोप लगाउनुभयो । नेता सिंहले कम्युनिष्ट सरकारले सङ्घीयतालाई बचाउन सक्ने गरी सङ्घीयता कार्यान्वयन हुन सक्ने गरी काम गर्न नसकेको आरोप लगाउनुभयो ।
कार्यक्रममा काङ्ग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले सरकारले जनतालाई कर र महङ्गी दिएको आरोप लगाउँदै घोषणा गरे पनि कामको कार्यान्वयनमा सरकार अगाडि बढ्न नसकेको बताउनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेस भक्तपुरका जिल्ला सभापति दूर्लभ थापा, नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र नं १ का सभापति जीवन थापा, क्षेत्र नं २ का सभापति नारायण खायमली लगायतका नेताहरुले सरकारले जनताको मन जित्ने र व्यवहारमा देखिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
जम्मु–कश्मिरको घटनाप्रति दुःख व्यक्त
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतको जम्मु–कश्मिरको पुलवामामा बिहीबार भएको आत्मघाती हमलाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले आज एक विज्ञप्तिमार्फत सो घटनाले सम्पूर्ण विश्वलाई नै शोकविह्वल र स्तब्ध बनाएको उल्लेख गर्दै त्यस्ता आतङ्ककारी घटनाको पुनरावृत्ति हुनु अत्यन्त दुःखद भएको बताउनुभएको छ । उक्त हमलामा भारतको केन्द्रीय रिजर्भ पुलिस बलका ४० जनाको मृत्यु भएको थियो ।
‘विश्वको जुनसुकै कुनामा हुने मानवता विरुद्धका यस्ता आतङ्ककारी घटनाको काङ्ग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछ, हत्या, हिंसा र आतङ्क सदाका लागि अन्त्य गरिनुपर्दछ भन्ने काङ्ग्रेसको स्पष्ट धारणा रहँदै आएको छ,’ विज्ञप्तिमा उल्लेख छ । उहाँले यस दुःखद क्षणमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट भारत सरकार र भारतीय जनताप्रति सहानुभूति प्रकट गर्दै धैर्यताका साथ अगाडि बढ्न आग्रह गर्नुभएको छ ।
सभापति देउवाले घटनामा परी निधन भएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना, उहाँहरुका परिवारजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
