झापाली पत्रकार महिलाको छाता सङ्गठन नारी सञ्चार गृहको अध्यक्षमा रेजिना गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । विर्तामोडमा आज सम्पन्न चौथो जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा लीला अनमोल, सचिवमा मायामितु न्यौपाने, कोषाध्यक्षमा स्वस्तिका आचार्य र सहसचिवमा जोश्ना श्रेष्ठ निर्वाचित हुनुभएको छ । सदस्यमा भारती राई, टीका पोखरेल, अनुषा चुडाल, दीपा पोखरेल, विनिसा शर्मा र मीना विश्वकर्मा निर्वाचित हुनुभएको छ ।
नारी सञ्चार गृहले नारी प्रतिभालाई पत्रकारिता पुरस्कार प्रदान गर्ने उद्देश्यले रु २५ लाखको अक्षयकोष स्थापना गरेको छ । अक्षयकोषको ब्याजबाट रु एक लाख एक हजार एक सय ११ को नारी सञ्चार उत्कृष्ट पत्रकारिता पुरस्कार र रु २५ हजार पाँच सय पाँचको नारी सञ्चार युवा पत्रकारिता पुरस्कार प्रदान गरिने गृहकी निवत्र्तमान अध्यक्ष भीमा शिवाकोटीले बताउनुभयो ।
यी दुई पुरस्कार नारी सञ्चार गृहको पद हस्तान्तरण कार्यक्रमको अवसरमा वितरण गरिने उहाँले जानकारी दिनुभयो ।
