प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे

राजनीति

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रदेशको नेतृत्व कांग्रेसले गरे जनताले महसुस हुने गरी विकासका काम गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको विपी स्मृति भवन शिलान्यास कार्यक्रममा नेता पाण्डेले सरकारप्रति जनअपेक्षा बढेको बताउनुभयो ।

उहाँले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । अब छिट्टै केन्द्रदेखि प्रदेशसम्म गठबन्धन गरेर चुनाव लडेका पार्टीहरूको सरकार आउने भन्दै गण्डकीमा कांग्रेसले नेतृत्व लिने उहाँको दावी थियो ।

नेता पाण्डेले भन्नुभयो, “चुनावपछि गठबन्धनमा विभिन्न समस्या आए तर दुई महिना नबित्दै पुनः हामी सबै एक ठाउँमा उभिएका छौँ, सँगै चुनाव लड्यौँ, जनताका माग र समस्या समाधान गर्ने बाचा ग¥यौँ, अब जनताका माग पूरा गर्न हामीहरू लाग्छौँ । ”

उहाँले पार्टी सङ्गठन बलियो बनाउन जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिनुभयो । समय–समयमा जनतामाझ पुग्ने र उनीहरूको सुख, दुःख र समस्या बुझ्न नेता कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो ।