आधुनिक शहर नयाँ पुस्तालाई कोसेली : उपप्रधानमन्त्री खड्का

राजनीति समाचार

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले भेरी किनारमा २० वर्षपछि आधुनिक शहर निर्माण हुने बताउनुभएको छ । उक्त शहर नयाँ पुस्तालाई कोसेलीका रूपमा हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।

आज गुर्भाकोट नगरपालिका सुर्खेतस्थित ‘भेरी गङ्गा उपत्यका नमूनाको आधुनिक शहर परियोजना’ को उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले भेरी नदी किनारमा सुन्दर बस्ती बसाइने जनाउनुभयो । उहाँले स्थानीय नागरिकसँगको छलफलपछि मन्त्रिपरिषद्ले गुरुयोजनालाई कानूनका लागि मूर्तरूप दिने जनाउनुभयो ।

रक्षाका साथै कानून, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहनुभएका उहाँले भेरी गङ्गा उपत्यका नमूना आधुनिक शहरको गुरुयोजना निर्माणको काम अगाडि बढाइएको र सोहीअनुसार तीनै तहका सरकारको आपसी समन्वय र सहकार्य आवश्यक रहेको औँल्याउनुभयो । सरकारले आर्थिक वर्ष ०६८÷०६९ को नीति तथा कार्यक्रममा आधुनिक शहर निर्माणको घोषणा गरे पनि करिब दश वर्षपछि आयोजनाको कार्यालय स्थापना गरिएको छ ।

विकास निर्माणका काम गर्दा कम्तिमा एक सय वर्षलाई सोचेर स्थानीय तहहरूले काम गर्नुपर्ने सुझाउँदै उहाँले गुरुयोजनाबमोजिम स्थानीय तहलाई काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “आधुनिक सहर निर्माणका लागि स्वदेशी मात्रै नभई विदेशबाट पनि स्रोत जुटाउँछौँ । बजेट अभाव भएर आधुनिक शहर निर्माणकार्य रोकिने छैन ।”

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सहसचिव एकराज अधिकारीले भेरी गङ्गा उपत्यका नमूनाको आधुनिक शहर गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको जनाउनुभयो । उहाँका अनुसार २० वर्षपछि विसं २१०० भित्रमा आधुनिक शहर निर्माणका काम सम्पन्न हुनेछ । नेपालमा निर्माणाधीन अवस्थामा रहेका नयाँ शहरमध्ये भेरी गङ्गा नमूनाको ११औँ शहर भएको जनाउँदै सहसचिव अधिकारीले अन्य दशवटा नयाँ शहरको कार्यालय स्थापना भई काम अगाडि बढेको बताउनुभयो ।

उहाँले पहाडी जिल्लाबाट तराईका लागि बसाइँसराइ रोक्न भेरी नदी किनारको आधुनिक शहर महत्त्वपूर्ण भूमिका खेल्ने जनाउँदै यो योजनाले भेरी गङ्गा, गुर्भाकोट र लेकवेशी नगरपालिकालाई समेट्ने बताउनुभयो । भेरी गङ्गा उपत्यका नमूनाको आधुनिक शहर कार्यालयका निमित्त आयोजना प्रमुख रामकृष्ण आचार्यले करिब रु ४० अर्ब बजेटमा उक्त शहर निर्माण हुने बताउनुभयो ।