काठमाडौँ / जीविकोपार्जनका लागि दोलखाको स्थायी बस्ती छाडेर काठमाडौँ आउनुभएका लालबहादुर बुढाथोकी फुटपाथ व्यवसायमा संलग्न रहेको ३० वर्ष पुग्यो । ‘घ’ वर्गको अपाङ्गता कार्ड लिनुभएका बुढाथोकी शारीरिकरूपमा अशक्त हुनुहुन्छ । खानेपानीको बोतल व्यवसायमा आबद्ध बुढाथोकीले जीविकोपार्जनमा सहज वातावरण सिर्जना होस् भनी बूढानीलकण्ठमा कृषि फार्म पनि सञ्चालन गरिरहनुभएको छ ।
विसं २०७३ सालमा कृषि क्षेत्रमा काम गर्ने इच्छाशक्तिले कृषि फार्म सञ्चालनमा ल्याउनुभएका बुढाथोकीले लगानी गरेअनुसार फल प्राप्त नभएपछि सजिलो र छरितोरूपमा आम्दानी हुने बोतल व्यवसायलाई जोड दिएको बताउनुहुन्छ । विसं २०५० सालमा व्यवसाय सुरु गरेका बुढाथोकीले ३० वर्ष कटिसक्दा पनि श्रमिकको माग अझै सम्बोधन हुन नसकेको गुनासो गर्नुभयो । “फुटपाथमा व्यापार गर्नु हाम्रो रहर होइन । गरिबीको हातमुख जोड्ने आधार नै यही पेसा भएकाले स्थान तोकिदियोस् । व्यवस्थित गरिदियोस् । हामी कर तिर्न परे पनि तिर्न तयार छौँ । निमुखाको गाँस खोस्ने काम नगरियोस्”, उहाँले भन्नुभयो ।
आज श्रमिक दिवसका अवसरमा विभिन्न सङ्गठन, संस्था, दलले सञ्चालन गरेका कार्यक्रमका भाषणमा श्रमिकको गाँस नभेटिने उहाँको भनाइ छ । “अवस्थाअनुसारको व्यवस्था गर्नु आजको राज्यको दायित्व हो । श्रमिकको हित, अधिकार सुनिश्चित होस् भनी निर्वाचित भएका जनप्रतिनिधिले श्रमिकको मतको कदर गर्नुपर्छ । हाम्रो सुरक्षा, हितको सुनिश्चित गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “श्रमिकको नाममा भाषण मात्र नगरियोस् । गरेका भाषण, गरेका प्रतिबद्धता कार्यान्वयन होस् । श्रमिक पनि बाँच्न पाउनुपर्दछ । बाँच्नका लागि सरकारले अनुकूल वातावरण सिर्जना गरिदिनुपर्दछ ।”
व्यवसायबाट मासिक करिब रु २५ हजार आम्दानी गर्दै आउनुभएका बुढाथोकीले आफ्ना बालबच्चाको पढाइ खर्च, खान, बस्न वर्तमान महँगीमा निर्वाह गर्न धौधौ रहेको बताउनुभयो ।
बुढाथोकीजस्तै स्वावलम्बी बन्न राजधानी आउनुभएकी सर्लाही स्थायी ठेगाना भएकी सीता सुन्दास श्रमिकको अधिकार, रोजगार सुनिश्चित, सुरक्षाका लागि दिवसको दिनमात्र नभई सधैँ आवाज उठाउनुपर्ने बताउनुहुन्छ । १८ वर्षदेखि ज्यामी काममा आबद्ध भई आउनुभएकी सुन्दास दैनिक रु एक हजार आम्दानी गर्नुहुन्छ । सो काममा पुरुष र महिलाका लागि बराबर तलब रहेको उहाँको भनाइ छ । दिउँसोभर काम गरेर बेलुकी छाक टार्ने श्रमिकको काम रोकिँदाको भोको पेटको जिम्मेवारी राज्यले लिनुपर्ने उहाँ बताउनुहुन्छ ।
यसअघि बदाम व्यवसायमा संलग्न रहनुभएकी सीता हाल ५० वर्षको उमेरमा पनि सोही पेसामा हुनुहुन्छ । “काम गरुन्जेल छाक टार्न सकिन्छ । काम गर्न नसक्दाको छाक टार्न कसले टार्दिन्छ ? कि त रोजगारीको व्यवस्था मिलाइदिन प¥यो होइन भने श्रमिकको हित, अधिकारको सुरक्षा सुनिश्चित गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
उदयपुर स्थायी ठेगाना भएका महेश महत्ता हाल बनेपामा मिस्त्रीको काम गर्दै आउनुभएको छ । काम आफैँमा जोखिम रहेकाले सुरक्षाको सुनिश्चित हुनुपर्नेमा महत्ता बताउनुहुन्छ । “जोखिमयुक्त कामअनुसारको पारिश्रमिक छैन । तलब पसिनाको सम्पत्ति हो । भिक्षा होइन । सही समयमा तलब प्राप्त नहुनु पनि हाम्रो मुख्य समस्या छ”, उहाँले भन्नुभयो । दैनिकरुपमा प्राप्त भएको आम्दानी कोठाभाडा र खाना खर्चमा ठिक्क हुनेले आकस्मिक बिरामी पर्दा श्रमिक मारमा पर्ने गरेको उहाँको भनाइ छ ।
“आज श्रमिक दिवसका अवसरमा आफ्ना हकहित सुनिश्चित होस् भनेर काठमाडौँका कार्यक्रममा सहभागी हुन आएका छौँ । आज मात्र होइन श्रमिकको आवाज सधैँ उठाइरहनुपर्दछ”, उहाँले भन्नुभयो । कामअनुसारको पारिश्रमिक उपलब्ध गराई श्रमिकको श्रमको कदर गनुपर्ने उहाँको भनाइ छ । “तीन महिनाअघि ठेकेदार भाग्यो । हामी श्रमिकको एक महिनाको तलब प्राप्त गर्न सकेनाँै हाम्रो गाँसको सुनिश्चित कसले गरिदिने ?”, उहाँले भन्नुभयो ।
काठमाडौँकी शारदा नगरकोटी इलेक्ट्रिक कम्पनीमा विगत १७ वर्षदेखि आबद्ध हुनुहुन्थ्यो । अघिल्लो वर्ष कात्तिकदेखि कम्पनी बन्द गरी साहु बेपत्ता भएकाले तीन महिना श्रम गरेको पारिश्रमिक नपाएको गुनासो गर्नुभयो । “कम्पनी बन्द भएको घोषणा पनि भएको छैन । हाल कार्यालय प्रवेशमा पनि निषेध गरेको छ । श्रम तथा रोजगार मन्त्रालयमा साहुलाई खोजी पाऊँ भनी निवेदन दिएका छौँ प्रक्रिया चलेको छ भन्ने खबर आएको छ । अरू निर्णय आएको छैन”, उहाँले भन्नुभयो ।
“हामीजस्ता कैँयौ श्रमिकको समस्या कहिले साकार हुन्छ ? हामी श्रमिकको श्रम गरेको तीन महिनाको तलब पाएका छैनौँ । हाम्रो तलबको सुनिश्चिता हुनुपर्दछ”, उहाँले भन्नुभयो । एक सय ३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आज ‘उज्ज्वल भविष्यका लागि मिलेर काम गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
