नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि कांग्रेस सधैँ लाग्ने बताउनुभएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसर आज मनोहरा जेसीजले आयोजना गरेको अन्तक्र्रियामा उहाँले कांग्रेस प्रेस स्वतन्त्रताका लागि सधँै लाग्ने बताउनुभएको हो । “आजको राजनीतिक उपलब्धि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकै कारण सम्भव भएको हो, यसको रक्षाका लागि कांग्रेसले आफूलाई कठोर बनाउँछ”, उहाँले भन्नुभयो ।
प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका पाण्डेले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हनन हुने कानून बन्न नदिन कांग्रेसले सरकार, सदन र सडकबाटसमेत खबरदारी गर्ने बताउनुभयो ।
कांग्रेसका युवा नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईंले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध थालिएका प्रयत्नको प्रतिवाद गर्न नेपाली प्रेस जगत् सक्षम रहेको बताउनुभयो । “नेपालको सञ्चार क्षेत्र त्यति कमजोर छ भन्ने लाग्दैन, अभिव्यक्ति स्वतन्त्रताविरुद्ध उभिनेलाई नेपाली सञ्चार क्षेत्रले नै निस्तेज पार्नेछ, त्यसमा सांसदका रूपमा हाम्रो साथ रहन्छ”, उहाँले भन्नुभयो ।
उहाँले संसद्बाट लोकतान्त्रिक अधिकारविरुद्ध कानून बन्न नदिन आफूहरू सचेत रहेको भन्दै लोकतन्त्रको प्राण नै अभिव्यक्ति स्वतन्त्रता भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, लोकतान्त्रिक छापामाध्याम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडीलगायतले तीन तहको निर्वाचन सम्पन्न भएलगत्तै लोकतान्त्रिक अधिकार सुदृढ हुनुपर्नेमा उल्टै अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा बढेको बताउनुभएको थियो ।
