नेपाल प्रेस युनियन धनुषामा सिंह

समाचार

नेपाल प्रेस युनियन धनुषा शाखाको अध्यक्षमा राजनकुमार सिंह पुनः निर्वाचित हुनुभएको छ । धनुषाको जनकपुधाममा आज भएको १०औँ जिल्ला अधिवेशनबाट सिंह दोस्रो कार्यकालका लागि पनि निर्वाचित हुनुभएको हो । उहाँको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको युनियनका केन्द्रीय उपाध्यक्ष अनिल कर्णले जानकारी दिनुभयो ।

नयाँ कार्यसमितिको उपाध्यक्ष (खुला) मा घनश्याम मिश्र, उपाध्यक्ष समावेशी÷महिलातर्फ रुपा कर्ण, सचिवमा हरिवंश यादव, सहसचिवमा गीता शर्मा, कोषाध्यक्षमा किशोर मण्डललगायत निर्वाचित भएका छन् । यसअघि अधिवेशनको उद्घाटन गर्दै युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले लोकतन्त्रवादीहरु कमजोर भएमा विचार तथा अभिव्यक्ति स्वतन्त्रता नै खतरामा पर्ने भएकाले आपसी मतभेद त्यागेर संगठित हुन सबैलाई आग्रह गर्नुभयो । उहाँले पत्रकारहरुको पेशागत हकहित संरक्षण र संगठन सुदृढीकरणलाई वर्तमान नेतृत्वले सँगसँगै अगाडि बढाउने धारणा राख्नुभयो ।

उद्घाटन कार्यक्रममा युनियनका उपाध्यक्ष कर्ण, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश अध्यक्ष राजेश कर्ण, आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिलका कार्यवहाक अध्यक्ष कैलाश दासलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।