श्रद्धाञ्जलिका लागि शव टुँडिखेलमा

मुख्य समाचार समाचार

काठमाडौँ, १७ फागुन । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिन उहाँहरुको शव टुँडिखेलमा ल्याइएको छ ।

त्रिवि शिक्षण अस्पतालबाट शव यहाँ ल्याइएपछि श्रद्धाञ्जलिको कार्यक्रम शुरु भएको छ । श्रद्धाञ्जलि दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुकको भीड लागेको छ ।

श्रद्धाञ्जलि दिन सातै जनाको शव टुँडिखेलमा राखिएको छ । दुर्घटनामा निधन भएका सबैको शव हिजो अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । शव परीक्षणपछि त्रिवि शिक्षण अस्पतालबाट शव श्रद्धाञ्जलिका लागि टुँडिखेलमा ल्याइएको हो ।

शव परीक्षणमा जटिलताका कारण श्रद्धाञ्जलिको कार्यक्रम बिहीबार ढिलाइ भएपछि आज बिहान ८ बजेका लागि तय भएको थियो । श्रद्धाञ्जलि कार्यक्रम सकिनेबित्तिकै मन्त्री अधिकारीको शव श्रद्धाञ्जलिका लागि कास्कीको पोखरा लगिने र अन्य व्यक्तिको पार्थिव शरीर आआफ्नो परिवारले उपयुक्त ठानेका स्थानमा लगेर अन्तिम संस्कार गरिने बताइएको छ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले नेकपाका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधनमा बिहीबार शोक प्रस्ताव पारित गरेको थियो ।
पर्यटन क्षेत्रको विकासमा अधिकारीको महत्वपूर्ण योगदान
काठमाडौँ, १६ फागुन । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)ले मुलुकको पर्यटन प्रवद्र्धन र विकासमा थोरै समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको महत्वपूर्ण योगदान रहेको बताएको छ ।

नाट्टाका अध्यक्ष सिएन पाण्डेले आज शोक वक्तव्य जारी गरी पर्यटन प्रवद्र्धन र विकासमा थोरै समयमा पर्यटन क्षेत्रमा मन्त्री अधिकारीले अनुभूत गर्नसक्ने परिणाममुखी काम गर्न सफल भएको बताउनुभयो । “सफल एवं वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीको अप्रत्याशित निधनबाट पर्यटन क्षेत्र तथा समग्र मुलुकले नै अपूरणीय क्षति व्यहोर्न पुगेको छ”, विज्ञप्तिमा भनिएको छ । नाट्टाले दुःखद घडीमा स्वर्गीय मन्त्री अधिकारीसहित सात जनाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

नेता पौडेलद्वारा मन्त्री अधिकारीको परिवारसँग भेट
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारलाई भेट्नुभएको छ ।

वरिष्ठ नेता पौडेलले आज मन्त्री निवास पुल्चोक पुगेर अधिकारीकी धर्मपत्नी विद्या अधिकारीसहित परिवार र आफन्तजनलाई भेटेर दुःखको यस घडीमा धैर्य धारण गर्न आग्रह गर्दै समवेदना व्यक्त गर्नुभएको थियो । वरिष्ठ नेता पौडेलले आफू र पार्टीका तर्फबाट समवेदनासहित धैर्य धारणाका लागि आग्रह गर्नुभएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

विद्यार्थी आन्दोलनमा अपूरणीय क्षति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा सङ्गठनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधनले नेपाली युवा आन्दोलन र सिङ्गो मुलुकलाई अपूरणीय क्षति भएको जनाएका छन् ।

वाइसिएल नेपाल र युवा सङ्घ नेपालले आज संयुक्त विज्ञप्ति प्रकाशित गर्दै नेपाली युवाको आशा र भरोसाका केन्द्रका रुपमा परिचित युवा नेता अधिकारीको निधनले युवा आन्दोलन र सिङ्गो मुलुकलाई अपूरणीय क्षति भएको उल्लेख गरेका छन् । वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र युवा सङ्घ नेपालका अध्यक्ष रमेश पौडेलले जारी गर्नुभएको संयुक्त विज्ञप्तिमा दुःखद् घडीमा नेकपाका नेता अधिकारीसहित सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदनमा प्रकट गरेको छ ।

यस्तै नेपाल इञ्जिनीयर्स एशोसिएसनका अध्यक्ष प्रा डा त्रिरत्न बज्राचार्य र महासचिव छविराज पोख्रेलले आज एक विज्ञप्तिमार्फत पटकपटकको हवाई दुर्घटनाले नेपालको आन्तरिक हवाई यातायातको सुरक्षामा पुनःप्रश्न चिह्न खडा भएको भन्दै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिन सरोकारवाला निकायले विशेष ध्यान दिन आवश्यक रहेको जनाएको छ ।

यस्तै जनसांस्कृतिक महासङ्घ नेपालले पनि नेता अधिकारीसहितको हेलिकप्टर दुर्घटनामा परी निधन भएकामा सम्पूर्ण कलाकर्मी मर्माहित भएको जनाएको छ । नेपाली जनताले ठूलो आशा र भरोसामा राखेका व्यक्तित्वको निधनले देशवासी नै दुःखित भएको महासङ्घको भनाइ छ ।

यस्तै विद्यार्थी सङ्गठनका ३१ जना पूर्वअध्यक्ष एवं नेताले पनि आजै एक शोक वक्तव्य प्रकाशित गरी विकासप्रेमी जनप्रतिनिधि र भरोसायोग्य युवा नेता गुमाउनुपरेकामा श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवार आफन्तजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

पूर्वविद्यार्थी नेता विश्वकान्त मैनाली, योगेश भट्टराई, कृष्णध्वज खड्का, खिमलाल भट्टराई, जीवन गौतम, रुपनारायण श्रेष्ठ, देवेन्द्र पराजुली, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, लेखनाथ न्यौपाने, किशोरसिंह राठौर, रामकुमारी झाँक्री, लेखनाथ न्यौपानेलगायत ३१ जनाले सीमासुरक्षा अभियान, ‘सार्वजनिक यातायातमा विद्यार्थीलाई ३३ प्रतिशत छुट’लगायतका महत्वपूर्ण आन्दोलनका अभियन्ताको निधनले आफूहरुलाई मर्माहत बनाएको उल्लेख गर्नुभएको छ ।

श्रेष्ठको निधनले शोकमा भक्तपुर
ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेभिरमा बुधबार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेर भक्तपुरका वीरेन्द्र श्रेष्ठको निधनपछि जिल्लावासी स्तब्ध बनेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जाँदा भक्तपुर नगरपालिका वडा नं १० याताछेँ टोलका बासिन्दा एवं नेपाल नागरिक उड्डययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठको ज्यान गएको खबरले भक्तपुर याते टोलका बासिन्दासहित जिल्लावासी शोकमा परेका हुन् । बाबु बितेको पाँच महीनामै श्रेष्ठ परिवारमा अर्को बज्रपात पर्छ भन्ने कल्पना पनि कसैले गरेका थिएनन् । गत असोज २९ गते फूलपातीको दिन उपमहानिर्देशक श्रेष्ठका पिता केशवप्रसाद श्रेष्ठको निधन भएको थियो । महीना नबित्दै यो परिवारमा अर्को शोक प¥यो । मृतक श्रेष्ठका ठूलो बुवा छोरा योगेन्द्र श्रेष्ठले अकल्पनीय घटनाले दुःखी बनाएको बताउनुभयो ।

योगेन्द्रले भन्नुभयो, “उनी केही समयदेखि कोटेश्वरमा बस्दै आएका थिए, एउटै परिवारमा भएको यो घटनाले निकै दुःखी बनाएको छ, शोकमा डुबेको छन् यहाँका बासिन्दा ।” “पिताको निधनपछि आमा मोहनदेवीलाई पनि आफूसँगै लिएर कोटेश्वरको घरमा गएका श्रेष्ठ अब कहिल्यै नफर्कने गरी बिदा भए, आमा र परिवारलाई सम्हाल्नै नसक्ने बज्रपात प¥यो”, श्रेष्ठका आफन्त राजेन्द्र श्रेष्ठ भन्नुहुन्छ ।

भक्तपुरको नवदुर्गा बहुमुखी क्याम्पसमा समेत विगतमा शिक्षण पेशामा आबद्ध भएर धेरैलाई शिक्षा दिनुभएका श्रेष्ठ टोलवासीका लागि उदाहरणीय र आँखामा राख्दा पनि नबिझाउने पात्रका रुपमा चिनिएका बताउँछन् स्थानीय बासिन्दा । परिवारका माहिलो छोरा श्रेष्ठको निधनले श्रीमती प्रमिला, छोरी कृष्टिना र छोरा अभिषेकलाई मात्रै नभई दाइ महेन्द्र र भाई सञ्जीवलाई पनि बज्रपात परेको बताउँछन् आफन्त ।

श्रेष्ठको शव आवश्यक प्रक्रिया पूरा भएपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जानकारी दिएका छन् । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थल निरीक्षणपछि पाथिभरा दर्शन गरी काठमाडौँ फर्कने क्रममा भएको हेलिकप्टर दुर्घटनामा उड्डयन प्राधिकरणका निर्देशक धु्रव भोछिभोया, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको ज्यान गएको थियो ।

शेर्पाको निधनले सोलुखुम्बु स्तब्ध
बुधबार ताप्लेजुङमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनामा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको समेत निधन भएको छ ।

सोलुखुम्बुको मात्र नभई देशकै खम्बाको रुपमा रहेका पर्यटन व्यवसायी शेर्पाको निधनले सोलुखुम्बु स्तब्ध बनेको छ । सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका–१ मा जन्मिनु भएका शेर्पा पर्यटन क्षेत्रको एक सफल व्यवसायी हुनुहुन्थ्यो । उहाँको निधनले समग्र जिल्ला र देशकै पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको प्रतिनिधिसभा सदस्य हेमकुमार राईले दुःख व्यक्त गर्नुभएको छ ।

“परिवार नै पर्यटन क्षेत्रमा भएका कारण उहाँको योगदान सोलुखुम्बुले कहिल्यै भुल्दैन”, राईले भन्नुभयो, “जिल्लाको समग्र पर्यटन प्रर्वद्धन गर्ने सन्दर्भमा महत्वपूर्ण योजना निर्माण गरेका थियौँ, शेर्पाका लागि त्यो योजना मै सिमित भयो ।” यति एयरलाइन्सका अध्यक्षसमेत रहेका शेर्पाले खुम्बुको लुक्लासम्म सडक पु-याउन निकै प्रयास गर्दै आउनुभएको थियो । “यस वर्षनै उहाँले दिलो ज्यान दिएर लुक्लासम्म सडक पु¥याउने भनेर लाग्नुभएको थियो ”, सांसद राईले भन्नुभयो, “उहाँको त्यो सपनालाई हामी पूरा गरेर छाड्छौँ ।”

ताप्लेजुङको फुङलिङ नगरपालिका–१० दारेभिरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना हुँदा पर्यटन व्यवसायी शेर्पासहित सात जनाको ज्यान गएको छ । दुर्घटनामा मुलुकले ठूलो नोक्सानी बेहोर्नुपरेकामा सोलुखुम्बु स्तब्ध छ । विभिन्न कम्पनी सञ्चालन गरेर सयौँ व्यक्तिलाई रोजगारी दिएका शेर्पाको मृत्युको खबर सुनेपछि सोलुवासी स्तब्ध भएका छन् ।

पर्यटनसँग आङछिरिङको सम्बन्ध

आङछिरिङ चर्चित सगरमाथा आरोही स्व पासाङल्हामु शेर्पाका साँहिला देवर हुन् । भाउजुले सगरमाथा आरोहण गर्दा आङछिरिङ ट्रेकिङ व्यवसायमा जेडिनुभएको थियो । गाउँबाट भरिया बन्न काठमाडाँै आएका शेर्पाको चार दशकको यात्राले पर्यटन क्षेत्रमा सिङ्गो देशलाई नै महत्वपूर्ण फाइदा पुगेको थियो ।

हिमाली पर्यटन व्यवसायमा लागेका आङछिरिङ २० वर्षको छोटो अवधिमा यति एयरलाइन्स, तारा एयरलाइन्स र हिमालय एयरको मालिक बन्न सफल हुनुभयो । काठमाडाँैको गोकर्ण रिसोर्ट, भैरहवाको कसरा रिसोर्ट, सोलुखुम्बुको यति होमलगायत सुविधा सम्पन्न होटल र रिसोर्टमा उहाँको लगानी छ । सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला स्वर्गीय पासाङल्हामु आङछिरिङकी माइली भाउजु हुनुहुन्छ । उहाँको सगरमाथा आरोहण गरेर फर्कने क्रममा ज्यान गएको थियो । उहाँका भाइ टेण्डि शेर्पाको पनि २०५५ सालमा सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका स्थित अँधेरीखोलामा हेलिकोप्टर दुर्घटनामै परेर ज्यान गएको थियो ।

एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले सगरमाथाको प्रथमपटक आरोहणपछि खुम्बु क्षेत्रमा बाह्य पर्यटकको चहलपहल शुरु भएको हो । त्यही अवसरमा आङछिरिङको परिवार पनि बाह्य पर्यटकलाई घुमाउँदै पर्यटन व्यवसायमा लागेको बताइन्छ । आफ्नै दिदीको ट्रेकिङ कम्पनीबाट शेर्पाले भरिया काम शुरु गर्नुभएको हो । परिवारनै पर्यटन क्षेत्रमा संलग्न रही देशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएका आङछिरिङका जेठा दाजुको पहिले नै निधन भइसकेको छ । अरु तीन दाजुभाइ पनि पर्यटन व्यवसायमा संलग्न छन् ।

आङछिरिङ २० वर्षमै देशको नमूना हवाईजहाज कम्पनीको रुपमा लिइने यति एअरका प्रबन्ध निर्देशक हुनुहुन्थ्यो । तारा एअर उहाँकै समूहको हो भने तेह्रथुम दुर्घटनामा परेको एअर डाइनेष्टी हेलिकोप्टरमा पनि उहाँकै समूहको ठूलो शेयर छ । पछिल्लो समयम उदाएको हिमालय एअर उहाँकै समूहको हो ।

पर्यटन व्यवसायी हिमाल केसीले भन्नुभयो, “हामी आङछिरिङ दाईको त्यो हौसला कहिल्यै बिर्सदैनाँै, हाम्रो लागि फागुन १५ गते कालो दिन भयो ।” आङछिरिङलाई नजिकबाट चिन्ने व्यक्ति मध्येका एक लुक्लाका विजय तामाङ शेर्पा उच्च ओहदाका व्यक्तिलाई मात्र नभई सामान्य व्यक्तिका लागिसमेत सहयोगी र विकासप्रेमी हुनुहुन्थ्यो । “उहाँमा सकारात्मक सोचाइ थियो, पर्यटकलाई सुरक्षा, प्रशिक्षित गाइड, गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ भन्ने मान्यता उहाँमा थियो”, उहाँले भन्नुभयो, “धेरै विदेशी उहाँकै कम्पनीबाट खुम्बु भ्रमणमा आउने गरेका थिए ।”