नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको नवगठित केन्द्रीय तदर्थ समितिको प्रथम बैठक आज सङ्घको केन्द्रीय कार्यालय धापासीमा सम्पन्न भएको छ । सङ्घका अध्यक्ष उषा रावत मिश्रको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन गरेको छ ।
बैठकमा सङ्घले आम महिलाको हकअधिकार स्थापित गर्ने विषयमा अझ सशक्त भूमिका खेल्नुपर्नेमा सहभागीले जोड दिनुभएको थियो । बैठकमा अध्यक्ष मिश्रले महिला सङ्घ स्थापनापश्चात् हरेक राजनीतिक आन्दोलनमा आफूलाई खरोरूपमा प्रस्तुत गर्दै आएको यो सङ्गठनको भविष्यमा पनि विशेष भूमिका रहने बताउनुभएको थियो ।
बैठकले प्रेस संयोजकमा मञ्जु नेपाल भण्डारी, आर्थिक समिति संयोजकमा वसन्ती भण्डारी, सदस्यमा तारा थपलिया, घरेलु हिंसाविरूद्धको समिति संयोजकमा सरस्वती बस्नेत र सदस्यमा डा सुष्मा तिवारी, ज्वाला पाण्डे, भारती जोशी, रेपिड रेस्पोन्स टिममा डा अमिता प्रधान, डा सीता घिमिरे र ट्रेड युनियन सम्पर्क समितिमा भीमकला गैह्रेलाई जिम्मेवारी दिएको छ ।
पार्टीको चौधौँ महाधिवेशनपछि बनेको तदर्थ समितिले यथाशक्य छिटो जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशन गर्नेगरी तयारी गर्न लागेको प्रेस संयोजक मञ्जु नेपाल भण्डारीले बताउनुभयो । बैठकले प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्ने, सङ्घको स्थापना दिवस मनाउने र संस्थापक अध्यक्ष स्वर्गीय मङ्गलादेवी सिंहको स्मृति दिवस मनाउनेलगायतका निर्णय गरेको छ ।
