नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत ट्रेड युनियन महासङ्घका केन्द्रीय अध्यक्ष विष्णु लम्सालले सरकारले भ्रष्टाचार न्यूनीकरणका लागि सुरु गरेको छानबिनमा सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
पेसागत महासङ्घ आबद्ध सुरक्षा क्षेत्र युनियन परिषद्ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकमा सुशासन कायम गर्ने उद्देश्यले सरकारले चालेका कदमबाट आत्तिएका भ्रष्टाचारीलाई कुनै पनि दलले संरक्षण गर्न नहुनेमा जोड दिनुभयो । उहाँले आफ्नो दलका नेताहरूले पनि भ्रष्टाचारजस्ता अवैध कार्य गरेको प्रमाणित भए कानुनी कारबाही गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
हरेक वर्ष श्रम बजारमा आउने जनशक्तिलाई उचित व्यवस्थापन गर्न सरकारले उत्पादन वृद्धि गर्नुपर्ने बताउँदै उहाँले अहिले ट्रेड युनियनका क्षेत्रमा पनि विकृति बढेकाले चनाखो हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा विभिन्न ट्रेड युनियन आबद्ध एक सयभन्दा बढी श्रमिक उक्त युनियन परिषद्मा समाहित भएका थिए । समाहित हुनेहरूमा अखिल नेपाल सेक्युरिटी मजदुर सङ्घका सचिवालय सदस्य तथा काठमाडौँ प्रतिष्ठान कमिटीका अध्यक्ष डिकबहादुर तामाङ, ललितपुर जिल्लाका अध्यक्ष तथा सङ्घका सचिवालय सदस्य, नेताहरू लीला खतिवडा, डिल्लीप्रसाद अघिकारी, सन्तबहादुर गुरुङलगायत एक सय जनाभन्दा बढी मजदूर नेता तथा कार्यकर्ता छन् ।
