२०७९ सालको निर्वाचनपछि देश आफ्नो गतिमा लम्किरहेको थियो । विगतका पुराना ठूला दलहरू निर्वाचन जितेपछि आफ्नो स्वरूपमा मस्त लयमा आआफ्नो धुनमा हिँडिरहेका थिए । केही महिनाअघि मात्र स्थापना भएका पार्टी जसको तहगत संरचनासमेत बनिसकेको छैन त्यस्तो दलहरूको यसपालि प्रतिनिधिसभामा बाक्लो उपस्थिति देखियो । चितवन-२ र तनहुँ-१ मा भएको उपनिर्वाचनको मत परिणामले पुराना दलहरू र स्थापित हूँ भन्ने दलहरूलाई करेन्टको झट्का झैँ अप्रत्यासित झट्का दिएको छ । हिजो टेलिभिजनमा चर्केर कुर्लनु जति सजिलो देखिएको थियो । यथार्थमा आकाश जमिनको अन्तर आपूmलाई नयाँ भन्ने दलहरूको छोटो समयको गतिविधिबाट देखिँदैछ ।
सामाजिक विकासक्रमलाई अलि लामो समयबाट नियाल्ने हो भने हिजो आदिम साम्यवाददेखि आजको आधुनिक युगसम्म आइपुग्दा भएका विविध कालखण्डका सामाजिक र राजनीतिक परिवर्तनलाई हेर्ने हो भने निश्चित समयक्रमपछि स्थापित भएका शक्तिहरू विस्थापित हुने र समाजमा नयाँ शक्ति उदय हुने चक्र खासै नौलो होइन । २१औं शताब्दीको बदलिँदो परिवेश, विश्व राजनीति, नेपाल र नेपालीको आर्थिक, सामाजिक, भौतिक र राजनीतिक अवस्था अनुभूति र चेतनाको स्तरलाई हेर्ने हो भने यसलाई माइक्रो लेबलमा अध्ययन गर्नुपर्ने हुन्छ ।
राजनीतिमा एउटा यस्तो एलाइट वर्ग हुन्छ जसले समयक्रमसँगै नयाँ शक्तिको जन्म गराउँछ र त्यसलाई आफू र आफ्नो हित अनुकूल उपयोग गर्दछ । ठ्याक्कै त्यस्तै गरी पुराना भनिएका केही दलबाट आफ्नो स्वार्थ पूरा नभएपछि नयाँ शक्ति र नयाँ-नयाँ पात्रको जन्म गराउँछ । यही अवधारणाबाट मात्र यो उपनिर्वाचनलाई हेर्ने हो भने राजनीतिमा यस्ता घटनाक्रमहरू भइरहन्छन्, आइरहन्छन् र गइरहन्छन् खासै धेरै चिन्ता लिनुपर्ने अवस्था नदेखिएला !
तर, वर्षौंदेखि जो यही भूमि सुहाउँदो लोकतान्त्रिक राजनीतिक सिद्धान्त बोकेर आफ्नो जीवन र जवानी समर्पण गरी नेपालको माटोमा बसेर राजनीति गरिरहेका छन् । उनीहरू जस्ता मानिसका लागि भने चिन्ताको विषय हुनसक्छ । हामीजस्ता मध्यम तहका मानिस जसले यही माटोमा आफ्नो भविष्य देखेको छ । हरपल यसैको सुन्दरताको कल्पना गरेर निरन्तर अविचलित कर्म गरिरहेको छ र यसैलाई सुधार गरेर परिवर्तन ल्याउन सकिन्छ भन्ने दृढविश्वास राख्दछन् । ती मानिसले भने अब पक्कै चिन्तामात्र होइन गम्भीर चिन्तन गर्न जरुरी छ ।
हामी यतिबेला २०७९ मा अन्य केही राजनीतिक दल र कतै नीति विधि र सिद्धान्त मेल नखाने माओवादी पार्टीसँग गठबन्धन गरेर जाँदा नेपाली कांग्रेस देशैभरमा पहिलो दल बनेकोमा नेतृत्व तहलाई धन्यवाद दिएर यही आत्मरतिमा मख्ख परेर बसेका छौं ।
पुराना राजनीतिक दलहरूमध्येको सबैभन्दा जेठो सात दशकभन्दा लामो गौरवपूर्ण इतिहास बोकेको पार्टी नेपाली कांग्रेसले आफ्नो केन्द्रीय समितिको बैठक लाइभ गरेर पारदर्शिताको सवालमा समाजमा आपूmलाई एक कदम अगाडि बढाएको छ । नेपाली कांग्रेसको विधान अनुसार–२ महिनाको एकपटक बस्नुपर्ने बैठक लामो समय बस्न नसकेको भनी चौतर्फी आलोचना खेपिरहेको कांग्रेस पार्टीको केन्द्रीय समितिको बैठक लाइभ हेरिसकेपछिको मनको खुल्दुलीलाई मेटाउन म यही पार्टीको कार्यकर्ता भएको नाताले मात्र होइन, एउटा लोकतन्त्रवादी नेपाली नागरिक भएको नाताले पनी यहाँ भएका केही कमी कमजोरीलाई सच्याएर सबल कांग्रेस निर्माणको दायित्व मेरो पनि हो । हिजोको पुस्ता राणासँग लड्यो, राजा र पञ्चसँग लड्यो यो पुस्ताले अब पार्टीभित्रका विसंगतिका विरुद्धमा एक पटक बोल्ने बेला भएको छ ।
प्रविधिको भरपुर उपयोग गरेर सञ्चालन भइरहेको बैठकमा कांग्रेसका कार्यकर्ताले मात्र होइन देशभित्र र देशबाहिर रहनुहुने तमाम लोकतन्त्रप्रेमी नागरिकले हेरिरहेका छन् भन्ने सामान्य हेक्कासम्म पनि नराखी एकले अर्काको उच्छित्तो काढिरहेको हेर्दा देशभरका तमाम कार्यकर्तालाई दिक्क लागेको कुरा भनिराख्नु पर्दैन । निरन्तर आठ दिन चलेको बैठकमा आन्तरिक कुण्ठा, निन्दा र व्यक्तिपूजाभन्दा अग्लिएर केही पदाधिकारी एवं सदस्यहरूको भन्दा अन्यको प्रस्तुतिमा बेजोडपन, विचारमा गति, भविष्य र देशप्रतिको चिन्ता खासै सुन्न पाइएन । अरूलाई तल झार्छु भनेर बोली रहँदा आफ्नो स्तर लोकले हेरिरहेको कुरा पत्तो नपाउनु दुःखद् पक्ष हो ।
हामी यतिबेला २०७९ मा अन्य केही राजनीतिक दल र कतै नीति विधि र सिद्धान्त मेल नखाने माओवादी पार्टीसँग गठबन्धन गरेर जाँदा नेपाली कांग्रेस देशैभरमा पहिलो दल बनेकोमा नेतृत्व तहलाई धन्यवाद दिएर यही आत्मरतिमा मख्ख परेर बसेका छौं । केही नहुने २३ सिटको अवस्थाबाट ७९ सिटको अवस्थामा पुग्दा स्वस्थ भएर मोटाएको हो कि गठबन्धनको क्याप्सुल खाएर सुन्निएको हो भन्ने कुराबीचको फरकलाई हामीले बेलैमा अनुभूत गर्न सकेनौं भने त्यो हाम्रो गम्भीर भूल हुनेछ ।
छैटौं पटक यस देशको प्रधानमन्त्री कसरी बन्ने भनेर प्रधानमन्त्री पदमा अर्जुन दृष्टि लगाउनुभन्दा बाहेकका अन्य महत्वपूर्ण विषय जसले देश र जनतालाई प्रत्यक्ष फरकपना र सकारात्मक परिवर्तनको अनुभूति दिलाउने विषयमा नेतृत्व तह गम्भीर हुन जरुरी छ । तर, दुःखका साथ भन्नुपर्ने हुन्छ यी यावत् विषयमा नेतृत्व तहको उदासीनता ज्यूँ का त्यूँ छ । राजनीति एजेन्टले होइन एजेण्डाले चलाउने हो कांग्रेसको नेतृत्वको इतिहासलाई हेर्ने हो भने हिजोका नेतृत्व, गुट, शक्ति र संख्याको आधारमा कम शक्तिशाली थिए होलान् तर तिनको एजेण्डाले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा पकड राख्न सकेको थियो
आज हामीसँग सबल संविधान छ, सार्वभौम राज्य छ । जनताले निर्वाचित गरेको-३ तहको सरकार छ । निर्वाचन किन र केका लागि ? निर्वाचन देशका लागि, निर्वाचन जनताका लागि, निर्वाचन समृद्धिका लागि, निर्वाचन विकासका लागि, सकारात्मक परिवर्तनका लागि या निर्वाचन कोही अमुक व्यक्तिलाई सांसद, मन्त्री वा प्रधानमन्त्री बनाउनका लागि ? पदका लागि, पावरका लागि, सत्ता र शक्तिका लागि ? या सरकार निर्माणका लागि ? आम नागरिकको जनजीविकासँग जोडिन नसक्ने सरकार केका लागि ? यो निर्वाचनमा जितेर के के काम गर्ने ? २०८४ को अर्को चुनाव जित्ने ! के हाम्रो गन्तव्य एउटा निर्वाचनदेखि अर्को निर्वाचनसम्मको यात्राका लागि मात्र निर्वाचन ? आखिर निर्वाचन केका लागि आज तमाम जनताले जताततै प्रश्न गरिरहेका छन् । यी र यस्ता प्रश्नहरू उठिरहँदा आमजनताले सबैभन्दा चर्को स्वरमा किन कांग्रेसलाई नै प्रश्न गरिरहेका छन् । किनकि जनतालाई अझ कांग्रेससँग अपेक्षा छ र प्रश्न त्यहाँ गरिन्छ जहाँ अपेक्षा रहन्छ ।
नेपाली कांग्रेसले अहिलेको फरक राजनीतिक परिवेश र चुनौतीलाई चिरेर अगाडि जाने हो भने ७५३ स्थानीय सरकारमध्ये ३३२ स्थानीय सरकार, ६ हजार ७४३ वटा वडामध्ये २ हजार ६६८ वडा अध्यक्ष, १० हजारभन्दा माथि वडा सदस्यहरू चारजना मुख्यमन्त्रीसहित सातवटा प्रदेश सरकारमा पहुँच, संघमा ७९ सदस्यसहित नौजना मन्त्रीहरू गणितीय हिसाबले यो संख्या पर्याप्त नभए पनि सकारात्मक परिवर्तन गर्नका लागि भने यो संख्या चानचुने भने पक्कै होइन ।
हामी सबै मिलेर सामूहिक बाचा गरौं, स्थानीय तहदेखि केन्द्रसम्म भ्रष्टाचारलाई तिरस्कार गरौं । कुनै पनि तहको पार्टी सदस्यले यदि भ्रष्टाचार गर्दछ भने त्यस्तो व्यक्तिको सदस्यता स्वतः निलम्बित हुने व्यवस्था विधानमा उल्लेख गरौं । अब आफ्ना निर्वाचित जनप्रतिनिधिलाई एकै ठाउँमा राखेर पार्टीले स्पष्ट निर्देशन दियोस् कि कांग्रेसका जनप्रतिनिधि भएको ठाउँमा भ्रष्टाचार गर्नेछैनौं । २०१५ सालको बीपी कोइरालाको मन्त्रिमण्डल र त्यो अल्पकालीन समयको सरकारको प्रगति र २०४८-०५१ को सरकारको प्रगतिलाई हेरेर २०८० को सरकारको प्रगति कछुवाको यात्रामा छ भन्दा फरक पर्दैन ।
हिजो राणा फालेर जनतालाई रैतीबाट नागरिक बनाएको पार्टी । हिजो निरंकुश पञ्चायती व्यवस्था फाल्न र जनताको पक्षमा वकालत गर्न लडेको पार्टी नेपाली कांग्रेस । आज गणतन्त्र आयो, नयाँ लोकतान्त्रिक संविधान पनि देश र जनताले पाइसके । अबको बाटो के ? अबको लक्ष्य के हो ? अब देशलाई विकासको कुन गतिमा डोहोर्याउने हो ? कूल गार्हस्थ उत्पादनमा कसरी वृद्धि गर्ने ? जनताको जीवनस्तर उकास्ने आधारहरू के के हुन् ? विश्वमा देखिएको आर्थिक मन्दीबाट बाहिर निस्कनका लागि नेपालले अवलम्बन गर्नुपर्ने आर्थिक नीतिहरू र चाल्नुपर्ने कदम के के हुन् ?
पार्टीका आन्तरिक संरचनालाई प्रत्यक्ष समाजसँग जोडौं । सबै तहगत संरचनालाई सामाजिक कार्य गर्न प्रोत्साहन गरौं । अबको गन्तव्य के हो ? देशको भविष्य के हुने ? देशलाई अबको २५ वर्षमा कस्तो बनाउने त्यसको चिन्ता गर्नुपर्ने बेला घर्किन लाग्यो ।
बेरोजगारीको समस्यालाई समाधान गर्ने उपाय के के हुन् ? लाखौं आमाहरूको आँसुले मुछिएको रातो टीका निधारमा लगाएर रातो नोटको बोट खोज्न दैनिक रूपमा विदेशिएका युवालाई गाउँका गल्लीमा रोक्न सकिने उपायहरू के के हुन् ? जनतालाई शिक्षा र स्वास्थ्यमा सर्वसुलभ पहुँच पुर्याउन के के गर्न सकिन्छ ? भन्नेजस्ता विषयमा गम्भीर हुन जरुरी छ ।
अब हुने स्थानीय निर्वाचनमा ३३ प्रतिशत टिकट युवालाई दिने प्रतिबद्धता गरौं । ६ हजार ७४३ वटा वडामा ३३ प्रतिशत महिला उम्मेदवारलाई कांग्रेसले टिकट दिने प्रतिबद्धता गरौं । नेताले रोजेकोलाई होइन जनताले खोजेको व्यक्तिलाई तहगत संरचनामा गरेको योगदान र लोकप्रियताको आधारमा उम्मेदवार बनाउने विधानको व्यवस्था गरौं । हिजो निर्वाचनका बेला घोषणापत्रमा उल्लेख भएका विषयवस्तुको सम्बोधन गरेर सम्मानित नेपाल-सुखी नेपालीको गन्तव्यमा पुग्न योगदान र मिहिनेतको आधारमा राइट मेन-राइट प्लेसको अवधारणा बसालौं ।
पार्टीका आन्तरिक संरचनालाई प्रत्यक्ष समाजसँग जोडौं । सबै तहगत संरचनाहरूलाई सामाजिक कार्य गर्न प्रोत्साहन गरौं । अबको गन्तव्य के हो ? देशको भविष्य के हुने ? देशलाई अबको २५ वर्षमा कस्तो बनाउने त्यसको चिन्ता गर्नुपर्ने बेला घर्किन लाग्यो । पार्टी आशीर्वादबाट होइन उचित मानिसलाई अवसर दिएर चलाउने हो । पार्टीभित्र योगदानका आधारमा वितरणको परिपाटीको सुरुवात गरौं ।
खेत छेउमा बाढी आउन लागेको छ । भेल पसेर गेगरले मेलो बिगार्नुभन्दा आगाडि निद्राबाट समय छँदै ब्युझेर बारबेर लगायौं भने पक्कै भोलिको पुस्ता र इतिहासले पनि हामीलाई सम्झेला । स्कुले जीवनका दिनहरूमा त्यहाँ हुने विविध कार्यक्रममा भाग लिएर हामी आफ्नो रफ्तारमा बोलिरहँदा नेपथ्यबाट जनाउको घण्टी बजेसँगै आफ्नो बोल्ने समय सकिन लागेको सूचना पाएर हामी सचेत हुने र छुटेका महत्वपूर्ण कुरालाई समातेर बोल्दै लयमा फर्कदै आफ्नो भनाइलाई बिट मार्ने गर्दथ्यौं ।
केही समय अगाडि सिन्धुपाल्चोकमा बाढी आउने पूर्वसूचना दिने संयन्त्र नहुँदा मस्त निद्रामा भएको गाउँ नै बाढीले बगाएको तीतो घटना हामीले बिर्सेको छैनौं । यस उपनिर्वाचनलाई जनाउ घण्टीका रूपमा, जनताले सतर्क हुन गरेको अनुरोधका रूपमा ग्रहण गर्दै समय छँदै सच्चिनका लागि पाएको एउटा सुनौलो अवसरको रूपमा लिँदै अगाडि बढेका खण्डमा नेपाली कांग्रेस फेरि एक पटक जनताको पहिलो रोजाइको पार्टी बन्न सफल हुनेछ । जनताको विश्वास जितेर यो देशको विकासका लागि हरदम लागिरहने छ ।
✍️देवकी गौतम
सामाजिक सञ्जालबाट
