चैनपुर (बझाङ), २८ भदौ : गत साता जिल्ला प्रहरी कार्यालय चैनपुरमा एउटा महिला हिंसासम्बन्धी घटना दर्ता भयो । श्रीमान्द्वारा श्रीमती निर्घात कुटिएपछि माइती पक्षले जिल्ला सदरमुकाम चैनपुरमा आएर उजुरी दिएको थियो ।
बुंगल नगरपालिकामा भएको त्यो घटनाको प्रहरीले अनुसन्धान गर्दा कुटपिटका कारण श्रीमान्को मदिरा सेवन देखियो । नियमित मदिरा सेवन गरेर श्रीमतीलाई मरणासन्न कुटपिट गर्न थालेपछि माइतीको सहयोगमा न्यायिक समितिमा उहाँ पुग्नुभएको हो । गाउँमा मदिराले छिमेकीलाई समेत दुर्व्यवहार गर्न थालेपछि महिला समूहले समेत दुई पटक कारबाही गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
महिला समूहले गरेको मदिरा नियन्त्रण र जरिवानामा पटक–पटक कारबाहीमा परेर नसुध्रिएको भन्दै महिलाहरूले कानूनी उपचारमा जान सुझाव दिएका थिए । त्यसपछि माइतीको सहयोगमा घटना प्रहरी कार्यालयमा पुगेको थियो । गरिबी हुँदा बेरोजगारी भएको र सामान्य कतै आम्दानी भएपछि मदिराको लत बसेको हुँदा समाज नै अशान्त हुन थालेपछि उहाँका श्रीमान्लाई प्रहरीले हिरासतको बाटो तय ग¥यो ।
गत महिना खप्तडछान्ना गाउँपालिकाबाट पनि जिल्ला प्रहरी कार्यालयमा महिला हिंसाकै घटना दर्ता भएको थियो । श्रीमान् र ससुराले आमा छोरीलाई घरबाटै निकालेपछि बेसाहरा हुनुभएका आमाछोरी प्रहरीको ढोकामा पुग्नुभएको थियो ।
श्रीमान्ले दोस्रो बिहे गरेपछि आमाछोरीलाई परिवारले नै विभिन्न आरोप लगाउँदै कुटपिट गरेर घरबाटै निकालेका थिए । माइतीघर टाढा भएको हुँदा महिला अधिकारकर्मीको सहयोगमा पहिलो पटक उजुरी दिन पुग्नुभएकी सविनामाथि दिनहुँ श्रीमान्ले मदिरा खाएर कुटपिट गर्ने गरेको प्रहरीले जनाएको छ ।
बिहे गरेको समयमा राम्रो सम्बन्ध भएको र दोस्रो बिहे गरेपछि परिवारले नै दुःख दिने गरेको उहाँले सुनाउनुभयो । “सुरुमा मलाई बिहे गरेर ल्याउँदा धेरै राम्रो सम्बन्ध थियो । केही वर्षपछि श्रीमान्ले अर्को बिहे गर्नुभयो । त्यसपछि मेरा दुःखका दिन सुरू भए । घरमा हरेक कुराको आरोप आफूमाथि नै लाग्न थाले । श्रीमान्को डिजाइनमा ससुराले पटक पटक मार्न खोजे । यसपटक भागेर सदरमुकाम आयौँ”, सविनाले भन्नुभयो ।
सविनामाथि हिंसा भएको पहिलो पटक भने होइन । दुई पटक नै जिल्ला प्रहरी कार्यालयमा पुगेर पीडकलाई सामान्य कारबाही हुँदै अब मिल्ने र सम्पतिको भागबन्डा गर्ने सहमतिमा गाउँ फर्काइएको थियो । प्रहरीका अनुसार सविनाका श्रीमान् कान्छी श्रीमती लिएर भारतमै बसेका छन् । यता बुबालाई उक्साएर जेठी श्रीमतीमाथि हिंसा गराइरहेको अनुसन्धानमा देखिएको छ ।
सामाजिक सञ्जाल पनि हिंसाको कारण
बझाङकै श्यामकुमारले पाँच वर्षअगाडि कैलालीबाट बिहे गर्नुभयो । बिहेको तीन वर्षपछि उहाँ मजदुरी गर्न भारत जानुभयो । दुई सन्तानका बुबा उहाँ छोराछोरी पढाउने, परिवारलाई सुख दिने सपनाले भारतमा मजदुरी गरिरहनुभएको थियो ।
गत महिना भने उहाँमाथि बज्रपात नै पर्यो । काम सकेर निवास फर्कने बेलामा म्यासेन्जरमा एउटा अश्लील भिडियो आयो । भिडियामा आफ्नै श्रीमतीको परपुरुषसँग शारीरिक सम्बन्धको थियो । त्यो देखेर सहनै नसक्ने अवस्थामा पुगेपछि आपत्कालीन बिदा लिएर उहाँ घर फर्कनुभयो ।
घरमा श्रीमतीमाथि हातपात गर्दै जिल्ला प्रहरी कार्यालयमा सम्बन्धविच्छेदका लागि निवेदन दिनुभयो । भिडियो बोकेरै आएपछि प्रहरी पनि नाजवाफ जस्तै भए । “सामान्य कुटपिटको घटना हुनसक्छ सोचेको त उहाँले तीन/चार वटा भिडियो नै ल्याएर आउनुभयो”, प्रहरी स्रोतले भने ।
दुई महिना अगाडि खाडी मुलुकबाट फर्किएका एक युवक आफ्नै श्रीमतीको त्यस्तै प्रकृतिको भिडियोसहित बोकेर सम्बन्धविच्छेदका लागि सदरमुकाम पुग्नुभयो । सामाजिक सञ्जाल फेसबुकबाट चिनजानको परपुरुषसँग नाजायज सम्बन्ध राखेको भिडियो सार्वजनिक भएपछि श्रीमान्का आफन्तले समेत कुटपिट गर्दैै इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
यसरी सामाजिक सञ्जालको गलत प्रयोग गर्दै हिंसा घटना बढ्न थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीका अनुसार अनैतिक क्रियाकलापछि सामाजिक सञ्जालमा फैलिएका घटनाले हिंसा बढ्दै गएको देखिन्छ ।
अन्य लैङ्गिक हिंसाका घटना भने घट्दो क्रममा रहेको उहाँले बताउनुभयो । चौधरीका अनुसार आर्थिक वर्ष ०७७/७८ मा लैङ्गिक हिंसासन्बन्धी तीन सय ३५ घटना दर्ता भएका थिए भने ०७८/७९ मा दुई सय ५० घटना दर्ता भएको उहाँले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष ०७९/८० मा भने लैङ्गिक हिंसाका घटना घटेर एक सय ९८ मा झरेको थियो ।
किशोरी सक्रिय हुँदा बालविवाह घट्यो
गत महिना मात्रै वित्थडचिर गाउँपालिका–४ की पशुपति महतको टोलीले गाउँमा भइरहेको एउटा बालविवाह रोक्यो । सत्र वर्षको उमेरमै बिहे गर्न लागेको थाहा पाएपछि महतको टोलीले प्रहरीलाई खबर गरिदिने भन्दै रोकेको थियो । “तत्काल बिहे हुने परिवार रिसाए पनि आजभोलि त्यो बेलामा बिहे रोकेर ठीकै गरेको भन्न थालेका छन्”, महतले भन्नुभयो ।
जयपृथ्वी नगरपालिका–१२ की कविता खड्काको चेतनशील किशोर–किशोरी समूहले पनि मदिराले हिंसा बढेको भन्दै गाउँमा नै मदिरा रोकेको छ । टोलीले एक ठाउँमा बालविवाह नै रोकेको थियो । “गाउँमा दर्जनौँपटक हिंसाविरूद्धको अभियान चलायौँ । अहिले धेरै कम भएको छ । बालविवाह त फिटिक्कै बन्द भइसक्यो हाम्रो गाउँमा”, खड्काले भन्नुभयो ।
यसरी जिल्लाभरि बालविवाहका घटना बढेपछि विभिन्न सङ्घसंस्थाको सहयोगमा किशोरीहरूलाई जिम्मेवार र क्षमता विकास गर्न किशोरी क्लबहरू गठन गरेको पीसविनका जिल्ला संयोजक भुवन सिंहले बताउनुभयो ।
उहाँका अनुसार पछिल्लो समय किशोरीहरूलाई आत्मबल बढाउन लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाले सहयोग गरेको छ । युएनएफपीएको आर्थिक सहयोगमा भीएसओ र पीसविनद्वारा सञ्चालित परियोजनाले सबैभन्दा बढी बालविवाह तथा हिंसा हुने तलकोट, वित्थडचिर, मष्टा र जयपृथ्वी नगरपालिकाका किशोर किशोरीलाई तालिम दिइरहेको उहाँले बताउनुभयो ।
परियोजनाले प्रगतिशील, चेतनशील, लालीगुराँस, भवानीलगायतका किशोर–किशोरी समूह बनाएर प्रशिक्षक प्रशिक्षार्थी (समूह अध्यक्ष) लाई तालिम दिँदै गाउँ–गाउँमा हिंसाविरुद्धको अभियान चलाइरहेको छ । विभिन्न प्याकेजमा प्रशिक्षक प्रशिक्षार्थी किशोर–किशोरीलाई तालिम दिएर विद्यालय तथा गाउँघरमा सचेतना फैलाउँदै आएको उहाँले बताउनुभयो ।
संस्थाहरूको प्राथमिकतामा पनि हिंसा न्यूनीकरण
गत साता दलित सहयोग समाजको आयोजनामा युनाइटेड मिसन टु नेपालको सहयोग र पत्रकार महासङ्घको सहकार्यमा सदरमुकाम चैनपुरमा लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्यो ।
अन्तरक्रियामा महिला महिला हिंसाको कारण गरिबी, अशिक्षा र मदिरा नै भएको सहभागीले देखाए । यसलाई रोक्नका लागि सबै सङ्घसंस्था एकजुट हुनुपर्ने सहभागीको धारणा थियो । लैङ्गिक हिंसा न्यूनीकरणका लागि टोल टोलमा सचेतीकरण अभियान चलाएमा हिंसा कम हुनसक्ने दलित सेवा समाज (डीएचएस) का कार्यकारी निर्देशक सुनिल नेपालीले बताउनुभयो ।
उहाँले डीएचएस र युएमएनको साझेदारीमा समान व्यवहार (ईभीई) परियोजनाले पनि बुंगल नगरपालिका ९, १० र ११ वडा कुरीति, कुसंस्कार, विभेदलाई न्यूनीकरण गर्ने काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार परियोजना लागू भएको वडामा विभिन्न समूहहरू, बालक्लब, दाजुभाइ समूहलगायतका समूह गठन गरेर वडा, विद्यालय, स्वास्थ्य संस्थासँगको साझेदारीमा महिला–पुरुष बीचको खाडल पुर्ने काम भइरहेको छ ।
युएमएन बझाङका टिम लिडर मोहनचन्द्र भट्टराईले मान्छेको सोच र समाज परिवर्तन नभएसम्म परियोजनाले मात्र समाज परिवर्तन गर्न नसक्ने बताउनुभयो । उहाँले लैङ्गिक हिंसाजस्ता कुसंस्कारलाई घटाउन स्थानीय सरकारले पाठ्यक्रममा नै समावेश गरेर बालबालिकाबाटै पढाउन सुरू गरे हिंसा नियन्त्रण हुने बताउनुभयो ।
महिलाको क्षमता विकास गर्न नगरले थप्यो बजेट
जयपृथ्वी नगरपालिकाले भने लैङ्गिक हिंसा न्यूनीकरण गर्न महिलाको क्षमता विकास गर्नुपर्ने भन्दै बजेट नै वृद्धि गरेको छ । गत बिहीबार हिंसा नियन्त्रणसम्बन्धी गरिएको कार्यक्रममा नगरपालिकाले महिलाका लागि छुट्याएको बजेट सार्वजनिक गरेको हो ।
लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाले गरेको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाले महिलाको क्षमता विकासका लागि गत वर्षको तुलनामा यस वर्ष दुई दशमलव ०२५ प्रतिशत बजेट छुट्याएको देखाएको हो ।
महिला कर्मचारीहरूलाई पारिश्रमिक, कार्यालय व्यवस्थापन, महिला परिचालिकाको तलब, महिला सीपमूलक तालिम, महिला हिंसा छाउपडी प्रथा बालबिवाहसम्बन्धी कानूनी साक्षरता, लैङ्गिक हिंसा प्रभावितलाई सहयोग, महिला जनप्रतिनिधिलाई नेतृत्व र भूमिकासम्बन्धी तालिमका लागि बजेट विनियोजन भएको जयपृथ्वी नगरपालिका महिला तथा बालबालिका शाखाकी सहायक महिला विकास निरीक्षक शारदा जोशीले बताउनुभयो ।
उहाँका अनुसार किशोरीलाई जीवनोपयोगी सीप विकास तालिमदेखि महिला सुरक्षित आवास गृह सञ्चालनसम्म विनियोजित बजेट खर्च हुनेछ । चालु आर्थिक वर्षका लागि मात्रै नगरपालिकामा रु ५९ करोड ९१ लाख ३२ हजार आठ सय ५८ कूल बजेट रहेकोमा महिलाका क्षेत्रमा खर्च गर्न रु एक करोड २१ लाख नौ हजार आठ सय ४० विनियोजन भएको छ ।
