विश्व दृष्टि दिवस : विभिन्न कार्यक्रम गरी मनाइयो

समाचार स्वास्थ्य/शिक्षा

काठमाडौँ, २६ असोज : सन् १९९८ को अक्टोबर ८ तारिखदेखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसका रुपमा मनाउँदै आइएकामा यो वर्ष पनि विश्वभरि नै विश्व दृष्टि दिवस मनाइएको छ । यस वर्ष ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रम गरी मनाइएको हो ।

नेपाल नेत्रज्योति सङ्घले विगतमा जस्तै यो वर्ष पनि आँखा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम गर्दै विश्व दृष्टि दिवस मनाएको छ । सङ्घअन्तर्गतका २७ वटा आँखा अस्पताल, एक सय ५० आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाले देशैभरि विभिन्न क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीको आँखा जाँचसहित विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएकोे छ । सङ्घले दृष्टि दिवसकै अवसरमा आँखा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक प्रतियोगितासमेत आयोजना गरेको थियो भने काठमाडाँैको त्रिपुरेश्वर, बानेश्वर र कोटेश्वरमा रहेका डिजिटल बोर्डमा समेत जनचेतनामूलक भिडियो प्रसारण गरिरहेको छ ।

दृष्टि दिवसका अवसरमा आयोजित टिकटक प्रतियोगितामा पौडेल प्रथम

दृष्टि दिवसका अवसरमा नेपाल नेत्रज्योति सङ्घले आई केयर फाउन्डेशनको सहयोगमा आयोजना गरेको टिकटक प्रतियोगितामा किरण पौडेल प्रथम भएका छन् । सङ्घले आँखा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको टिकटक प्रतियोगितामा पौडेल प्रथम भएका हुन् ।

त्यस्तै टिकटक प्रतियोगितामा शान्ति थापा द्वितीय भएकी छन् भने सञ्जु गुप्ता तृतीय भएकी छन् सङ्घले एक कार्यक्रमको आयोजना गरी विजेतालाई पुरस्कृत गर्ने जनाएको छ । प्रथमलाई रु ५० हजार, द्वितीयलाई रु ३० हजार र तृतीयलाई रु २० हजार नगद पुरस्कारसहित सम्मानित गरिने भएको छ ।