गोरखा, २६ असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न पछिल्लो समय नेपाली कांग्रेसमाथि हमला भइरहेको बताउनुभएको छ । कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनलाई आज गोरखा सदरमुकाममा सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पाण्डेले कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर पार्न सकिन्छ भनेर कांग्रेसलाई कमजोर बनाउने खेल भइरहेको बताउनुभयो ।
“अहिलेको राजनीतिक परिवर्तन उल्ट्याउन सबैभन्दा पुरानो राजनीतिक दल भएका हिसाबले कांग्रेसमाथि हमला गर्नुपर्छ भनेर हामीलाई यदाकदा कमजोर पार्ने खेल भइरहेको छ”, उहाँले भन्नुभयो, “कांग्रेसलाई कमजोर बनाएर देशले हासिल गरेको उपलब्धि उल्ट्याउन खोजिएको छ ।”
मुख्यमन्त्री पाण्डेले संविधान, समावेशिता, समानुपातिक पद्धति, धर्म निरपेक्षतालगायत धेरै विषय कोही कसैलाई मन नपरेको भन्दै तिनै शक्तिबाट देशमा प्राप्त उपलब्धिलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताउनुभयो । “प्राप्त उपलब्धि उल्ट्याउन कांग्रेसलाई कमजोर बनाउने तत्व अहिले सल्बलाएका छन्”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “ठूलो राजनीतिक त्याग र बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्दै देश विकासमा कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्छ ।”
उहाँले निर्वाचन, महाधिवेशनलगायतका क्रममा टिकट बाँडफाँटका विषयलाई लिएर सङ्गठन कमजोर पार्ने काम पार्टीभित्रबाट कसैले गर्न नहुनेमा समेत जोड दिनुभयो । “अधिवेशन, महाधिवेशन, निर्वाचनको टिकटका विषयलाई लिएर सङ्गठन कमजोर बनाउने होइन”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “सङ्गठन सुदृढ बनाएर आगामी निर्वाचनमा कसरी जित्ने ? त्योअनुसार अघि बढ्ने हो ।”
मुख्यमन्त्री पाण्डेले कांग्रेसको नेतृत्वमा रहेका स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारले गरेका राम्रा कामलाई जनताकामाझमा लैजान नसकिएको भन्दै सरकारले गरेका राम्रो काम जनताको बीचमा लैजान सबैलाई आग्रहसमेत गर्नुभयो ।
—
