काठमाडौँ, १३ कात्तिक ः बालबालिकाका सवालमा सरकार र सम्बन्धित निकायलाई जिम्मेवार बनाउँदै संसद् र समितिमा बालबालिकाका सवाललाई प्राथमिकतामा राख्न पहल गर्ने लक्ष्यका साथ बाल अधिकार संसदीय समूह (ककस) गठन गरिएको छ ।
नेपालमा बाल अधिकारको संरक्षण तथा प्रवद्र्धनका लागि नीतिगत वकालत गर्दै आएको बालबालिका शान्ति क्षेत्र राष्ट्रिय सञ्जाल (सिजप) को समन्वय र सहजीकरणमा गठित उक्त ककसले कानुन निर्माण प्रक्रियामा बालबालिकाका सवाललाई व्यवस्थितरुपमा उठाउने सिजपका महासचिव तिलोत्तम पौडेलले जानकारी दिनुभयो ।
राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा गठित सो ककसमा संसद्को महिला तथा सामाजिक मामिला समितिका सदस्यहरु चन्दा चौधरी, शान्ति श्रेष्ठ, कल्पना मियाँ, सीता राना र लक्ष्मी तिवारी, कानुन, न्याय तथा मानव अधिकार समितिका सदस्य रञ्जुकुमारी झा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य ईश्वरी जिएम र विनिताकुमारी सिंह, पूर्वाधार विकास समिति सदस्य विना लामा रहनुभएको छ ।
महासचिव पौडेलले ककसका सदस्यहरुको बैठकले यसको संयोजक तोकी कार्ययोजना तय गर्ने बताउनुभयो ।
