काठमाडौँ, १९ कात्तिक ः अखिल नेपाल किसान महासङ्घले जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त प्रकट गरेको छ ।
महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले जारी गर्नुभएको विज्ञप्तिमा शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै पीडितलाई गाँस, बास, कपाससहित पुनःस्थापनाका साथै पीडितलाई आर्थिक सहयोग उपलब्ध गराउन सबैसँग अपिल गरिएको छ ।
पीडितको उद्धार तथा आवश्यक स्वास्थ्य उपचारको व्यवस्थापन गर्न सरकारसँग माग गरेको विज्ञप्तिमा कर्णाली प्रदेशका किसानलाई पीडितको उद्धार कार्यमा सरकारलाई आवश्यक सहयोग गर्न निर्देशन दिइएको छ । विज्ञप्तिमा सरकारले पीडितको उद्धारमा देखाएको अग्रसरताको सराहना गर्दै प्राकृतिक विपद् व्यवस्थापनमा संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ ।
महासङ्घले पनि पीडितलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइएको विज्ञप्तिमा विपद्को बेलामा सबै प्रकारका सहयोग तथा राहत व्यवस्थापन गर्न देश विदेशमा रहेका नेपालीलाई आग्रह गरिएको छ ।
