गालीगलौजको प्रवृत्तिले कांग्रेस कमजोर भएको गुनासो

मुख्य समाचार राजनीति

भक्तपुर, १९ कात्तिक : नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले नेपाली कांग्रेसभित्र आन्तरिक रुपमा एकले अर्कालाई गाली गर्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाएको बताउनुभएको छ ।

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ प्रदेशसभा ‘क’ को दधिकोटमा आज आयोजना गरिएको प्रथम सम्मेलनको उद्घाटन गर्दै उहाँले पार्टीभित्र उत्पन्न विभिन्न गुटउपगुटका कारण पार्टी कमजोर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “एकले अर्कोलाई गाली गर्ने प्रवृत्तिले इमान्दार कार्यकर्ताको भावनामा ठेस पुग्दा पार्टी कमजोर भएकाले यस्ता गतिविधि रोक्नुनुपर्छ ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, केन्द्रीय सदस्य रमा कोइराला पौडेलले पार्टी विधानसम्मत् रुपमा चल्न सके सबै समस्या समाधान हुने आँैल्याउनु भयो ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले नयाँ पार्टीले चाहेर पनि कांग्रेसको इतिहास मेटाउने नसक्ने बताउनुभयो । नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाले एकअर्कालाई गालीगलौज गर्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका सूर्यविनायक नगर सभापति निशान ढुङ्गेल, भक्तपुर क्षेत्र नं २ प्रदेश सभा ख का सभापति ओमप्रकाश श्रेष्ठ, भक्तपुर क्षेत्र नं २ का सभापति भेषबहादुर कार्की, क्षेत्र नं १ का सभापति जीवन खत्री, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताउनुभयो ।

त्यस अवसरमा कांग्रेसका पुराना नेता तथा कार्यकर्तालाई सम्मान गरिएको थियो ।