काठमाडौँ, २३ कात्तिक ः नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नं ४ एकाइ समितिले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई रु दुई लाख ५१ हजार पाँच सय ५५ सहयोग गरेको छ । समितिले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण जनधनको क्षति व्यहोरेका त्यस क्षेत्रको पीडित जनताको पुनःस्थापना र उपचारका लागि उक्त रकम सहयोग गरेको हो ।
भूकम्पपीडितका लागि नेपाली कांग्रेसले स्थापना गरेको राहत कोषमा जम्मा हुने गरी उक्त रकम हस्तान्तरण गरेको कांग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापति रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो । एकाइ समितिले उक्त रकम आज कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको हो । भूकम्पको भयावह अवस्थाबाट गुज्रिएका सम्बन्धित क्षेत्रका जनताको तत्काल उद्धार र घाइतेको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनःस्थापनालाई थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको सभापति न्यौपानेले बताउनुभयो ।
यसअघि सो समितिले कात्तिक २५ गते चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने तयारी गरेकामा भूकम्पका कारण पार्टी केन्द्रको निर्देशानुसार उक्त कार्यक्रम रद्द गरेको थियो ।
