‘शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ’

राजनीति समाचार

बैतडी,२९ मङ्सिर : सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले तीनै तहका सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ स्थित भूमिराज मावि चडेपानीको ५०औँ वार्षिकोत्सव तथा स्वर्णजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री भट्टले शिक्षा विकासको मेरुदण्ड भएकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

भौतिक विकासले मात्रै प्रगति नहुने भन्दै मन्त्री भट्टले समाजको विकासका लागि शिक्षा क्षेत्रको विकास अनिवार्य रहेको बताउनुभयो । देशमा अहिले तीन तहको सरकारको रहेको बताउँदै उहाँले तीनै तहका सरकारले शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “दक्षजनशक्ति उत्पादनका लागि शिक्षा क्षेत्रमा लगानी गनुपर्छ । विकासको मेरुदण्ड भनेको नै शिक्षा हो । त्यसैले तीनै तहका सरकारले शिक्षामा लगानी बढाउनु आवश्यक छ ।”

शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गरेका मुलुक विकसित भएको भन्दै मन्त्री भट्टले समान शिक्षा नीति निर्माणमा जोड दिनुभयो ।

एक अर्को प्रसङ्गमा मन्त्री भट्टले सुदूरपश्चिम प्रदेश सरकार आफ्नो क्षेत्रमा विकासका लागि प्रतिबद्ध रहेको दाबी गर्नुभयो । प्रदेशका सम्भावनाको खोजी गरी समृद्ध प्रदेश निर्माणका लागि अहिलेको सरकार लागिपरेको उहाँले बताउनुभयो । मन्त्री भट्टले भन्नुभयो, “विकास निर्माणका काममा राजनीतिक भेद्भाव गर्न हुँदैन । नागरिक लाभान्वित हुने खालको वातावरण निर्माण गर्नुपर्छ ।”

यसैबीच विद्यालयका तर्फबाट मन्त्री भट्टलाई ज्ञापनपत्र बुझाइएको छ । विद्यालयको चौतर्फी विकासका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहेकाले ज्ञापन पत्र पेस गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दराज भट्टले बताउनुभयो ।

विद्यालयमा छात्रछात्रा शौचालय निर्माण, विज्ञान प्रयोगशाला, बालमैत्री कक्षाको लागि आवश्यक फर्निचरको व्यवस्था, प्रविधिमैत्री कक्षा निर्माणको लागि इन्टरनेटको व्यवस्था गरिदिनुपर्ने माग गर्दै मन्त्री भट्टलाई ज्ञापनपत्र बुझाइएको विद्यालयका प्रधानाध्यापक शङ्करदत्त भट्टले बताउनुभयो । वार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक भट्टले ८६ लाख आय र ८० लाख व्ययको विवरण समेत प्रस्तुत गरेका थिए ।

यस्तै विद्यालयका संस्थापक, जमिनदाता, भुपू शिक्षक र विद्यालयका सहयोगीलाई स्वर्णजयन्तीको अवसरमा प्रशंसापत्रसहित सम्मान गरिएको प्रधानाध्यापक भट्टले बताउनुभयो । यस्तै विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ भने स्वर्णजयन्तीको अवसरमा आयोजना गरिएका खेलकुद तथा अन्य क्रियाकलापमा विजयी भएका छात्रछात्रालाई पनि पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

विसं २०३० मा स्थापना भएको विद्यालयमा अहिले कक्षा १० सम्मको पढाइ भइरहेको छ । उक्त विद्यालयमा दुई सय ४८ जना विद्यार्थी अध्ययनरत छन् ।