नेपाल इन्भेष्टमेन्टको निक्षेप १२ अर्बले बढ्यो,

आर्थिक समाचार

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ६.६६ प्रतिशतले घटेको छ। बैंकले गत आर्थिक बर्ष तीन अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको छ।
अघिल्लो आर्थिक बर्ष तीन अर्ब ६५ करोड रुपैयाँ थियो। निक्षेप, ऋण लगानी, खुद व्याज आम्दानीमा उल्लेख्य सुधार गरे पनि मूख्य तीन वटा ऋणमा समस्या आउँदा एक अर्ब ५० करोड रुपैयाँ प्रोभिजनिङ गर्नु परेको छ।

बैंकले खुद व्याज आम्दानी ५.१२ प्रतिशतले सुधार गर्दै ६ अर्ब १५ करोड रुपैयाँ आर्जन गरेको छ। निक्षेप संकलन ९.३७ प्रतिशतले सुधार हुँदा ऋणको विस्तार भने ३.९५ प्रतिशत मात्रै छ। सर्वसाधारणको एक खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २३ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ।

निक्षेप संकलन अनुसार ऋण लगानीमा आक्रामक नदेखिएको बैंकको पूँजी कोष अनुपात १२.६६ प्रतिशतबाट १३.६५ प्रतिशत फराकिलो भएको छ। बैंकको खराब कर्जा १.४२ प्रतिशतबाट बढेर १.७८ प्रतिशत पुगेको छ।

आधार व्याजदर ९.०२ प्रतिशतबाट ८.३३ प्रतिशतमा झारेको छ। राष्ट्र बैंकको निर्देशनभन्दा तलै रहेको स्प्रेड दरमा यस पटक थोरै प्रतिशत विन्दुले बढाएर ४.३८ प्रतिशत पुर्याएको छ। चुक्ता पूँजी १० अर्ब ६४ करोड रुपैयाँबाट १२ अर्ब ८६ करोड रुपैयाँ पुर्याउदा प्रति शेयर आम्दानी ९ रुपैयाँले घटेको छ। जगेडा कोषमा १० अर्ब ९५ करोड रुपैयाँ जम्मा गरेको छ।