क्रिकेट च्याम्पियनशिप टि–ट्वान्टी प्रतियोगितामा आर्मी र भारतको नोइडा विजयी

खेलकुद

वीरगञ्ज (पर्सा), ९ पुस : पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनशिप टी–ट्वान्टी प्रतियोगितामा आज नेपाल आर्मी क्लब र भारतको वान्डर्स क्लब नोइडा विजयी भएको छ ।

वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल एपिएफ क्लबलाई आठ बिकेटले स्तब्ध पार्दै भारतको नोइडा क्लबले पहिलो जित निकाल्दा आर्मीले भारतको उत्तर प्रदेश क्लब (युपी ११) लाई ६५ रनले पराजित गरी आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

पहिलो खेलमा टस जितेर भारतीय नोईडा क्लबले पहिले फिल्डिङ राजेपछि ब्याटिङमा उत्रेको नेपाल एपिएफ क्लबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४४ रनको योगफल जोडेको थियो ।

एपिएफका कप्तान प्रदीप ऐरीले २४ रन, सन्दीप झोराले २० रन, आसिफ शेख र लोकेश बमले समान १९/१० रन तथा अमर रौटेलाले १७ रनको योगदान दिए । भारतीय क्लब नोइडाका अलिप्त गुप्ताले २ तथा हर्षित सेठी, सञ्जीव चतुर्वेदी र रितिक भाटले समान १/१ बिकेट हात पारे । एक सय ४५ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रेको भारतीय क्लब नोइडाले १६ दशमलव २ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

नोइडाका हर्षित सेठीले अविजित ४५ रन, सिद्धार्थ गोस्वामीले अविजित ४३ रन, रितिक भाटले ४६ रन तथा रितिक अरोराले १२ रनको योगदान दिए ।

एपिएफका कमल खत्री र बिपी खत्रीले समान १/१ बिकेट लिनुभयो । प्रतियोगिताको ‘म्यान अफ दी म्याच’ नोइडाका रितिक भाट घोषित भएको छ । यस्तै आज दिउँसो भएको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले १९ दशमलव ५ ओभरमा सबै बिकेट गुमाएर एक सय ३२ रनको योगफल जोडेको थियो । आर्मीका सन्तोष कार्कीले ४४ रन, भीम सार्कीले २३ रन, सहाब आलमले २२ रन र बसिर अहमदले १४ रनको योगदान दिए ।

युपी ११ का वसि अन्सारीले ३, सहिम हसन र सहनसा अहमदले समान २/२ तथा भीम शर्मा र तरुण कुमारले समान १/१ विकेट लिए । एक सय ३३ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रिएको युपी ११ ले १४ दशमलव ३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ६७ रनमात्र बनाउन सक्यो । युपी ११ का अल्तमस आलमले १६ रन, तरुण कुमारले १२ रन तथा सुभम चौधरी र जयदीप सिंहले समान ११/११ रनको योगदान दिनुबाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्क जोड्न सक्नुभएन ।

युपी ११ लाई सस्तैमा समेट्न आर्मीका सहाब आलम र पवन कार्कीले समान ३/३ तथा सोमपाल कामी र बसिर अहमदले समान २/२ विकेट हात पारे । सो प्रतियोगिताको म्यान अफ द म्याच आर्मीका सहाब आलम घोषित भएको आयोजकले जनाएको छ ।

दुई विभागीय टोलीको वर्चस्व

पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनशिप टी–ट्वान्टी प्रतियोगितामा दुई विभागीय टोलीको वर्चस्व कायम छ ।

नेपालका चार र भारतको दुुई क्लब गरी छ टोलीको सहभागिता रहेको सो प्रतियोगितामा १८ वटा खेल सकिँदा नेपाल आर्मी क्लब आठ अङ्कका साथ शीर्ष स्थानमा छ ।

आर्मीले हालसम्म खेलेको चारवटै खेल जितेको छ । यस्तै अर्काे विभागीय टोली नेपाल पुलिस क्लब चार अङ्कका साथ दोस्रो स्थानमा रहेको छ । पुलिसले खेलेको तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ । अङ्क तालिकामा चार अङ्क नै भए पनि रनरेटका आधारमा पछि पर्दै पर्सा ११ तेस्रो स्थानमा छ ।

पर्सा ११ ले खेलेको तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार भोगेको छ । यस्तै भारतको वान्डर्स क्लब नोइडा दुई अङ्कसहित चौथो स्थानमा छ । नोइडाले खेलेको तीन खेलमध्ये दुईमा हार र एकमा जित निकालेको छ ।

अर्काे विभागीय टोली नेपाल एपिएफ क्लबले तीन खेलबाट दुई अङ्क जोड्दै पाँच स्थानमा छ । एपिएफले खेलेको तीन खेलमध्ये दुई खेलमा हार एक खेल जितेको छ ।

अङ्क तालिकामा भारतको उत्तर प्रदेश क्लब (युपी–११) अङ्कविहीन छैटो स्थानमा रहेको छ । युुपी ११ ले चारवटा खेल खेलेकामा चारवटैमा पराजय बेहोरेको छ ।

प्रतियोगिताको शीर्ष चारमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने आयोजक समितिका म्यानेजर दाउद अन्सारीले जानकारी दिए । जीर्ण बन्दै गएको वीरगञ्जस्थित नारायणी रङ्गशाला पुनःनिर्माणतर्फ तीनै तहको सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेसनलको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी–११ गरी ६ टोलीको सहभागिता रहेको प्रतियोगिता म्यानेजर दाउद अन्सारीले जानकारी दिए ।

प्रतियोगिता पुस ५ देखि १४ गतेसम्म सञ्चालन हुने म्यानेजर अन्सारीले बताए ।