नाफामा व्यापक सुधार गर्ने बैंकहरू

आर्थिक मुख्य समाचार समाचार

काठमाडौं । हिमालयन, एनएमबी, प्राइम नेपाल बंगलादेश र जनता बैंकले आफ्नामा ह्वात्तै वृद्धि गरेका छन् । नेपाल बंगलादेश बैंकले स्प्रेड बढाएको छ भने बाँकीले कम स्प्रेडमै पनि राम्रो नाफा गरेका हुन् । हिमालयन बैंकले ५१ प्रतिशतले नाफा बढाएको छ । बैंकले दुई अर्ब ८४ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष एक अर्ब ८७ करोड रुपैयाँ थियो । खुद व्याज आम्दानी पाँच अर्ब चार करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी चार अर्ब ३२ करोड रुपैयाँ थिये । बैंकले एक खर्ब नौ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ८२ करोड रुपैयाँको ऋण लगानी गरेको छ । अघिल्लो वर्ष ९८ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी ८२ अर्ब ४७ करोड रूपैयाँ ऋण लगानी गरेको थियो । चुक्ता पूँजी आठ अर्ब ५२ करोड रुपैयाँ छ भने जगेडा कोषमा पाँच अर्ब ३२ करोड रुपैयाँ जम्मा भएको छ । खराव कर्जा १.४० प्रतिशतबाट १.१२ प्रतिशतमा झार्न सफल हुँदा बैंकको नाफामा उल्लेख्य सुधार भएको हो ।

एनएमबी बैंकले २४ प्रतिशतले नाफा बढाएको छ । बैंकले दुई अर्ब ३१ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष एक अर्ब ८० करोड रुपैयाँ नाफा गरेको थियो । खुद व्याज आम्दानी चार अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी दुई अर्ब ९० करोड रुपैयाँ गरेको थियो । सर्वसाधारणबाट ९७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकले तीन अर्ब २० करोड रुपैयाँ बरोइङ गरेको छ । अघिल्लो वर्ष बैंकले ८३ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ७१ करोड रुपैयाँ ऋण लगानी गरेको थियो ।

प्राइम बैंकले गत आर्थिक वर्षमा ३७ प्रतिशतले नाफा बढाएको छ । बैंकले दुई अर्ब ३६ करोड रुपैयाँ नाफा गरेको हो । अघिल्लो वर्ष एक अर्ब ७२ करोड रुपैयाँ थियो । अघिल्लो वर्ष खुद व्याज आम्दानी दुई अर्ब ६६ करोड रुपैयाँ रहेकोमा गत वर्ष तीन अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेको छ । बैंकले ७७ अर्ब चार करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । अघिल्लो वर्ष ७२ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरि ६७ अर्ब १३ करोड रुपैयाँ ऋण लगानी गरेको थियो ।

नेपाल बंगलादेश बैंकले ४१ दशमलब ५६ प्रतिशतले नाफा बढाएको छ । असार मसान्तसम्ममा एक अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष एक अर्ब १४ करोड रुपैयाँ थियो । खुद व्याज आम्दानी दुई अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष एक अर्ब ९७ करोड रुपैयाँ थियो । गत वर्ष ५९ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब ७२ करोड रुपैयाँ ऋण लगानी गरेको छ । अघिल्लो वर्ष ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ८७ करोड रुपैयाँ ऋण लगानी गरेको थियो । निक्षेप र ऋण लगानीमा खासै आक्रामक नदेखिए पनि बैंकले स्प्रेडदर बढाएर नाफा बढाएको हो । बैंकले ३ दशमलब ६७ प्रतिशतबाट ४ दशमलब ६४ प्रतिशतमा स्प्रेडदर बढाएको छ ।

जनता बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो एक अर्ब रुपैयाँ थियो । खुद व्याज आम्दानी दुई अर्ब ४० करोड रुपैयाँबाट तीन अर्ब ४१ करोड रुपैयाँमा पुगेको छ । सर्वसाधारणबाट ७६ अर्ब एक करोड रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब ८४ करोड रुपैयाँ ऋण लगानी गरेको छ । चुक्ता पूँजी आठ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब ७० करोड रूपैयाँ जम्मा गरेको छ ।