जसरी हिमाली क्षेत्र सुरक्षित रहेन भने दक्षिण एसिया सुरक्षित रहन्न, त्यसरी नै शिवपुरी क्षेत्र सुरिक्षत रहेन भने राजधानी काठमाडौं उपत्यका सुरक्षित रहन्न । राजधानी काठमाडौं उपत्यकामा प्रवाह हुने पानीमध्ये करिब ५० प्रतिशत स्रोत शिवपुरीको हो । पवित्र नदी बाग्मतीको उद्गमस्थल पनि शिवपुरी तथा सुन्दरीजल क्षेत्र नै हो । शिवको प्रतीक बागद्वार र पार्वतीको प्रतीक सुन्दरीमाई हुँदै बहने भएकाले नै बाग्मतीको जल पवित्र मानिएको हो ।
शिवपुरी र बाग्मती सुरक्षित रहेन भने पशुपतिनाथ र गोकर्णेश्वरको पवित्रता पनि सुरक्षित रहँदैन । स्थानीय तहको नयाँ संरचनापछि पवित्र पर्वत शिवपुरी क्षेत्र तथा पवित्र गंगा बाग्मतीको धेरैजसो खण्ड गोकर्णेश्वर नगरपालिकाभित्र परेको छ । पशुपतिनाथभन्दा माथि बाग्मती नदीको ९० प्रतिशत क्षेत्र गोकर्णेश्वर नगरपालिकाभित्रै पर्छ । पशुपतिभन्दा माथिको बाग्मती नदीमा बहने पानी ९५ प्रतिशतभन्दा बढी गोकर्णेश्वर नगरपालिकाकै हो । त्यसैले गोकर्णेश्वर नगरपालिकाको दायित्व तथा जिम्मेवारी सामान्य छैन ।
गोकर्णेश्वर नगरपालिका सफा भयो भने पशुपतिनाथ सफा हुने र गोकर्णेश्वर नगरपालिका फोहोर भयो भने पशुपतिनाथ दुर्गन्धित हुने कुरा यथार्थ हो । त्यसैले बाग्मती नदीमा सफा पानी बगाउन गोकर्णेश्वरको विशेष स्याहार सम्भार जरुरी छ । यसका लागि संघीय सरकार तथा प्रदेश सरकारको समेत ध्यान जानु जरुरी छ । पवित्र बागमतीको पवित्रतालाई जोगाउने महाअभियानमा गोकर्णेश्वर नगरपालिकाको ताकतले मात्रै नपुग्न सक्छ भन्ने हाम्रो धारणा छ ।
मेलम्चीबाट ल्याइने पानीको पहिलो प्राथमिकता गोकर्णेश्वर नगरपालिका क्षेत्रका जनतालाई दिनुपर्छ । यसरी पहिलो प्राथमिकता दिइयो भने उनीहरूले इनार ट्युबवेल प्रयोग गर्दैनन् । बाग्मतीमा पानीको बहाव स्वतः बढ्छ । पानीको प्रचुरता भयो भने फोहोर हुन पाउँदैन ।
पशुपति आर्यघाटमा नुहाउन मिल्ने गरी बाग्मती नदीमा सफा पानी बगाउने हो भने तीनवटा कुरामा ध्यान दिनुपर्छ । पहिलो कुरा, गोकर्णेश्वर नगरपालिकाका ग्रामीण क्षेत्रहरूलाई घडेरीका लागि प्लटिङ गर्नबाट जोगाउनुपर्छ । बाहिरबाट अन्धाधुन्ध बसाइँ सरेर साविकका सुन्दरीजल, नयाँपाटी, बालुवा, गोकर्णका साविक गाविसहरू भरिने क्रम तीव्र छ । यो क्रम यसरी नै बढ्दै गयो भने बाग्मती नदीमा सफा पानी बग्ने सम्भावना रहन्न । दोस्रो कुरा, मेलम्चीबाट ल्याइने पानीको पहिलो प्राथमिकता गोकर्णेश्वर नगरपालिका क्षेत्रका जनतालाई दिनुपर्छ । यसरी पहिलो प्राथमिकता दिइयो भने उनीहरूले इनार ट्युबवेल प्रयोग गर्दैनन् । बाग्मतीमा पानीको बहाव स्वतः बढ्छ । पानीको प्रचुरता भयो भने फोहोर हुन पाउँदैन ।
यसैगरी तेस्रो हो, फोहोरमैलाको उचित प्रबन्ध । गोकर्णेश्वर नगरपालिकाका नौवटा वडामध्ये साविकको जोरपाटी गाविसमा पाँचवटा वडा छन् । यी पाँचवटा वडामा करिब ९० हजार जनसंख्या छ । यो जनसंख्या भनेको गोकर्णेश्वर नगरपालिकाको कुल जनसंख्याको करिब ८५ प्रतिशतभन्दा बढी हिस्सा हो । यहाँको जनघनत्व काठमाडौं महानगरपालिकाको भित्री सहरी क्षेत्र (कोर एरिया) को जस्तै छ ।
सानो क्षेत्रमा रहेको यो ठूलो जनसंख्याले दैनिक २० मेट्रिकटन फोहोर उत्पादन गर्ने अनुमानित आँकडा छ । यो फोहोर नै बाग्मती नदी प्रदूषणको मुख्य कारक बनेको छ । स्थानीय चुनावमार्फत गोकर्णेश्वर नगरपालिकामा जनप्रतिनिधिहरू निर्वाचित भएर आएपछि मुख्य ध्यान खानेपानी र सरसफाइमै दिएको देखिएको छ । यो अत्यन्त सराहनीय पक्ष हो । तर मेलम्ची नआएसम्म खानेपानी समस्याको समाधान नगरपालिकाका जनप्रतिनिधिहरूको बुताभित्र छैन । सरसफाइका लागि भने नगरपालिकाले धेरै कुरा गर्न सक्छ । यसका लागि प्रयास गरिरहेको पनि छ । तर नगरपालिकाले गरेका प्रयासमा अवरोध पनि त्यत्तिकै देखिएको छ ।
कस्तो अवरोध ?
काठमाडौं उपत्यकाको फोहोर काठमाडौ जिल्लाको सिसडोल ल्यान्डफिल साइटमा व्यवस्थापन गरिँदै आएको छ । काठमाडौं महानगरपालिकाको संयोजनमा भएको फोहोर व्यवस्थापनको काम कहिलेकाहीँ निकै पेचिलो हुने गरेको छ । अनेकौं स्वार्थ समूहको टकरावका कारण कहिलेकाहीँ हप्तौंसम्म पनि फोहोर संकलन हुन नसकेर दुर्गन्ध फैलने गरेको छ । यस्तो समस्या जोरपाटी क्षेत्रले बढी बेहोर्नुपरेको छ । नगरपालिकाले विगतदेखि नै फोहोर संकलनका लागि प्रत्येक घरबाट मासिक पाँच सय रुपैयाँ उठाउने अनुमति निश्चित ठेकेदारहरूलाई दिँदै आएको छ । ठेकेदारले पैसा उठाउने, तर फोहोर संकलनको काम भने नगरपालिकाकै स्रोतबाट गर्नुपर्ने बाध्यतासमेत कतिपय अवस्थामा आउने गरेको छ । नगरपालिकाकै स्रोतसाधनबाट फोहोर संकलन गर्नु आर्थिक रुपमा अनुकुल होला भन्ने मलाई लाग्दैन । प्रतिघर मासिक पाँच सय रुपैयाँका दरले उठ्ने सम्पूर्ण रकम ठेकेदारको हुनुलाई दीर्घकालिन समाधान हो भन्ने पनि लाग्दैन । नगरपालिकाले रकम नपाएको मात्र होइन यो अल्पकलिन, आपतकालिन समाधान मात्र हो, दीर्घकालिन समस्य समाधानको उपाय होइन । नगरपालिकालाई स्थायी समाधान चाहिएको छ । हामी त्यसैको खोजीमा छौं ।
एकातिर फोहोर संकलनका लागि जनताले महँगो रकम तिर्नुपर्ने, अर्कातिर समयमै फोहोर संकलन नहुँदा दुर्गन्धमा बस्नुपर्ने अवस्था अन्त्यका लागि के गर्न सकिन्छ ? भन्ने विषयमा नगरपालिकाका जनप्रतिनिधिबीच छलफल चलिरहेको थियो । त्यसैबेला जापानको एउटा फोहोर प्रशोधन कम्पनीमा सम्पर्क भएका संजय लामासँग यसै सन्दर्भमा मेरो सम्पर्क भयो । उक्त कम्पनीले फोहोर प्रशोधन गरेर उपयोगी वस्तु निर्माण गर्ने मात्रै होइन, फोहोर प्रशोधन गर्ने उपकरणहरू साइज साइजका बनाउने रहेछ । मैले आफ्नो नगरपालिकाको समस्या सुनाएपछि उनीहरूले भने– ‘यो समस्या हामी समाधान गरिदिन्छौं, यसका लागि हामीलाई नगरपालिकाले मेसिन जडान गर्न केही रोपनी जग्गा छुट्याइदिए हुन्छ, अरु कत्ति पनि खर्च गर्नुपर्दैन, हामी आफैं लगानी गर्न तयार छौं ।’
मेसिनमा आफैं लगानी गर्ने प्रस्ताव अघि सार्दै उनीहरूले प्रत्येक घरबाट मासिक ३ सय ६० रुपैयाँ संकलन गर्ने, त्यसमध्ये तीन सय रुपैयाँ आफूले लिने र ६० रुपैयाँ नगरपालिकालाई दिने प्रस्ताव राखे । प्रत्येक घरबाट मासिक पाँच सय रुपैयाँ संकलन भएको र त्यो रकममध्ये नगरपालिकाले एक सुका पनि नपाइरहेको अवस्थामा उनीहरूको प्रस्ताव उचित लाग्यो । मैले फेरि सोधेँ–‘फोहोर प्रशोधन गर्दा जलाउनुपर्ने भएकाले विद्युतको खपत पनि बढी होला, धूँवाका कारण वरिपरिको वातावरण पनि प्रदूषित होला नि ?’ उनीहरूले जवाफ दिए– ‘सुरुमा फोहोर जलाउँदा विद्युत चाहिन्छ, जब फोहोर जल्न थाल्छ, त्यसैले ऊर्जा दिन थाल्छ अनि बिजुली चाहिँदैन अर्थात् नगन्य बिजुली भए पुग्छ ।’ मैले सोधेँ, धुँवाको समस्या नि ? उनीहरूले जवाफ दिए– ‘धूँवा आकाशमा नपुग्दै पानीको प्रवाह गरिन्छ, त्यो पानीले धूँवामा रहेको कालो पदार्थलाई ठोस पदार्थ बनाएर तल झारिदिन्छ, स्वच्छ हावा तथा बाफ मात्रै वायुमण्डलमा पुग्छ ।’ यसैगरी कुहिने खालको फोहोरको कम्पोस्ट मल बनाइने र नकुहिने फोहोरलाई मात्रै त्यसरी जलाएर नष्ट गरिने उनीहरूले बताए । उनीहरूको यो प्रस्ताव मलाई धेरै नै आकर्षक लाग्यो ।
मैले गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल, शंखरापुरका मेयर सुवर्ण श्रेष्ठ, कागेश्वरी मनोहराका मेयर कृष्णहरी थापाज्यूहरुलाई फोहोर संकलन र नष्ट गर्ने दीर्घकालिन समाधानबारे विभिन्न उपाए र विकल्पसहित यो कुरा बताएँ । विभिन्न देशको अनुभव, प्रविधिका बारेमा छलफल चल्यो । त्यसमध्ये जापानको प्रविधि नेपालका लागि उपयुक्त हो भन्ने निश्कर्षपछि जापानमै गएर यसको अवलोकन गर्ने इच्छा उहाँहरूले राख्नुभयो । प्रस्तावक साथीहरूले तीनैवटा नगरपालिकाका मेयर तथा यस क्षेत्रका प्रतिनिधिसभाका सदस्य कृष्ण राईसमेतलाई जापान लगेर यो प्रविधि देखाउने वातावरण बनाउनु भयो । उहाँहरू त्यो प्रविधि देखेर–बुझेर खुसी भएर फर्कनुभयो । यो प्रस्ताव अघि बढाउने निर्णय गर्दै गोकर्णेश्वर नगरपालिकाले जग्गा उपलब्ध गरायो पनि । आएको केही समयै मेसिन पनि जडान भयो । जब काम सुरु हुन लागेको थियो, स्थानीयबासीका नाममा केही व्यक्तिहरूले ‘हाम्रो घर नजिक फोहोर प्रशोधन केन्द्र राख्न दिँदैनौं’ भन्दै अवरोध उत्पन्न गराउनु भयो । त्यो अवरोध अहिलेसम्म पनि जारी छ । जवकि जापानजस्तो विकसित शहरमा बस पार्कमै जडान गरिएको उक्त मेसिन र वातावरणीय प्रभावका बारेमा सम्मानित मेयरज्यूहरुसहितको टोलीले प्रत्यक्ष हेरेर आउनु भएको थियो । वातावरणीय हिसावले यो प्रविधि राम्रो छ भन्ने लाग्छ । यसबारे जनचेतनामूलक कार्यक्रम व्यापक बनाउन आवस्यक छ भन्ने महसुश मैले गरेको छु ।
यतिवेला प्रत्येक घरबाट मासिक पाँच सय रुपैयाँ संकलन गर्दा पनि समयमा फोहोर नउठ्ने समस्या एकातिर छ भने अर्कोतर्फ नकुहिने फोहोर जलाउन जापानदेखि ल्याइएको उक्त मेसिन प्रयोगविहीन भएको अवस्था हाम्रा लागि चुनौती बनेको छ । यसर्थ, खानेपानी स्रोतको संरक्षण र फोहोरको व्यवस्थापन नै नगरपालिकाको सफलता, असफलताको कसी बन्न सक्छ भन्ने मेरो बुझाई छ ।
