राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णालीबाट छ जनाको मनोनयन दर्ता

मुख्य समाचार राजनीति समाचार

भेरीगङ्गा (सुर्खेत) २३ पुस : आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीबाट छ जनाले मनोनयन दर्ता गराएका छन् ।

सत्ता गठबन्धन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले तीन सिटमा एक/एक सिट लिने गरी बाँडफाँट गरे अनुसार कांग्रेसबाट अन्यतर्फ रुकुमका कृष्णबहादुर रोकाया, एकीकृत समाजवादीबाट महिलातर्फ दैलेखका सावित्री मल्ल, माओवादी केन्द्रबाट दलिततर्फ कालिकोटका विष्णु विकले मनोनयन दर्ता गराउनुभएको छ ।

नेकपा (एमाले)ले पनि उम्मेदवारको मनोनयन दर्ता गराएको छ । एमालेबाट महिला समूहतर्फ हुम्लाका विमलाकुमारी शाही, दलित समूहमा दैलेखका हिक्मत विक र अन्य समूहमा मुगुका डिल्लीप्रसाद भट्टले मनोनयन दर्ता गराउनुभएको हो ।

कुन दलको कति मतभार

कांग्रेससँग प्रदेश र स्थानीय तहको निर्वाचनको कूल मतभार एक हजार नौ सय ७६ छ । स्थानीय तहका प्रमुख/अध्यक्ष छ सय आठ र उपप्रमुख/उपाध्यक्षबाट पाँच सय ३२ र प्रदेशसभामा सात सय ९५ मतभार छ ।

माओवादी केन्द्रसँग स्थानीय तहको प्रमुख/अध्यक्ष गरी चार सय ३७ र उपप्रमुख/उपाध्यक्षको चार सय ७५ र प्रदेशसभा सदस्य छ सय ८९ गरी जम्मा एक हजार छ सय एक मतभार छ ।

एमालेसँग स्थानीय तहका प्रमुख/अध्यक्ष गरी दुई सय ८५, उपप्रमुख/उपाध्यक्षबाट ३ सय ८० र प्रदेशसभामा ५ सय ३० गरी कुल १ हजार १ सय ९५ मतभार छ ।

यस्तै, एकीकृत समाजवादीसँग स्थानीय तहका प्रमुख/अध्यक्ष गरी ७६ र उपप्रमुख/उपाध्यक्ष गरी एक सय १४ र प्रदेशसभामा ५३ गरी जम्मा दुई सय ४३ मतभार छ ।

स्थानीय तहका प्रमुखमा निर्वाचित भएका पाँच जनाको मतभार ९५ रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशसभामा ५३ मतभार छ ।