भारतको केन्द्रीय राजधानी दिल्लीमा बाढीको जोखिम बढेको भन्दै सतर्क रहन आह्वान गरिएको छ । यमुना नदीमा पानीको बहाव लगातार बढ्दै गएकाले बाढीको खतरा बढेको अधिकारीहरूले सोमबार बताएका छन् ।
बाढीको जोखिम र नदीको बहावको व्यवस्थापनका बारेमा अपनाउने रणनीतिका बारेमा छलफल गर्न नयाँ दिल्ली प्रदेश सरकारले सोमबार आपत्कालीन बैठक पनि बोलाएको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ, “वर्तमान् चुनौतीपूर्ण अवस्थाका बारेमा छलफल गर्न मैले सम्वन्धित विभागका अधिकारीहरूसँगको बैठक बोलाएको छु ।”
छिमेकी हरियाणा प्रदेशसँग जोडिएको हाथिनी कुण्ड पुल क्षेत्रबाट यमुना नदीको पानी बढ्दै आएको देखिएकाले सतर्कता अपनाउनु पर्ने भएको अधिकारीहरूको भनाइ छ ।
स्थानीय अधिकारीहरूले तल्लो भूभागमा रहेका बासिन्दालाई सुरक्षित र माथिल्लो क्षेत्रमा सर्न आह्वान गरेका छन् ।
“बाढीको जोखिम नरहेको उच्च भूभागतिर मात्रै बस्न र पालको व्यवस्था गर्न म सवैलाई आग्रह गर्दछु,” केजरीवालले ट्वीट गर्नुभएको छ । उहाँले २ हजार १२० पालहरू व्यवस्था गरिसकिएको पनि बताउनुभएको छ ।
काश्मिर विवादबीच पाकिस्तानद्वारा सैन्य प्रमुखको कार्यकाल थप
भारतीय संविधानमा काश्मिरबारे विशेष व्यवस्था भएको धारा ३७० लाई खारेज गरेपछि भारत–पाकिस्तानबीच राजनीतिक विवाद चलिरहेका समय पाकिस्तानी सैन्य प्रमुखको कार्यकाल आगामी तीन वर्षका लागि थप गरिएको पाकिस्तानी अधिकारीले सोमबार बताएका छन् ।
भारतले काश्मिरलाई केन्द्र सरकार मातहत राख्ने निर्णय र अमेरिकी प्रशासनले शान्ति सम्झौता गरी अफगानिस्तानबाट अमेरिकी सेनालाई फिर्ता लान खोजिरहेका समय पाकिस्तानले आफ्ना सैन्य प्रमुख जनरल कमार जाभेद बाजवाको पदावधि तीन वर्षका लागि थप्ने निर्णय गरेको हो ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कार्यालयद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जनरल कमार जाभेद बाजवा आगामी तीन वर्षका लागि पुनः सेना प्रमुखका रूपमा रहने गरी नियुक्त गरिएको छ । निर्णय क्षेत्रीय सुरक्षा वातावरणलाई मध्यनजर गर्दै लिइएको छ ।”
पदावधि थपबारे पाकिस्तानी सैनिक प्रवक्ताले पनि पुष्टि गरेका छन् यसलाई राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यावश्यक निर्णयका रूपमा पाकिस्तानले उल्लेख गरेको छ ।
