बङ्लादेश, २ भदौ : बङ्लादेशमा शरणार्थीका रूपमा रहेका झण्डै तीन हजार ५०० रोहिङ्ग्यालाई म्यानमार फर्काउने तयारी भएको छ ।
सरकारी उच्च अधिकारीले सोमबार दिएको जानकारीअनुसार उनीहरूलाई घर फर्काउने प्रक्रिया यसै हप्ता शुरु हुनेछ ।
सैनिकको ज्यादतीबाट आजित भएर झण्डै दुई वर्ष अगाडि उनीहरू भागेर बङ्लादेश आएका थिए ।
सन् २०१७ को अगस्टतिर झण्डै सात लाख ४० हजार रोहिङ्ग्या शरणार्थीहरू विस्थापित भएर बङ्लादेश आएका थिए ।
उनीहरूलाई स्वदेश फर्काउनका लागि फिर्ती सम्झौतामा हस्ताक्षर गराउने क्रम चलिरहेको अधिकारीहरूले जनाएका छन् ।
बङ्लादेशका शरणार्थी आयुक्त मोहम्मद अबुल कलामले आउँदो बिहीबार थप शरणार्थीहरूलाई म्यानमार फर्काउने प्रक्रिया शुरु हुने विश्वास व्यक्त गर्नुभयो ।
यसअघि सन् २०१८ को नोभेम्बरमा २२ सय ६० शरणार्थीहरूलाई स्वदेश फर्काउने प्रक्रिया शुरु गरेकोमा सुरक्षाको सुनिश्चितता नभएकाले फर्किन नसकिने भन्दै शरणार्थीहरूले घर फर्किन अस्वीकार गरेका थिए ।
“अन्य सबै कुरा तयारी अवस्थामा छन्, गन्तव्यस्थान मात्रै निश्चित गर्न बाँकी छ,” म्यानमारका अधिकारीहरूसँगको बैठकपछि कलामले पत्रकारहरूसँग भन्नुभयो ।
उहाँले कसैलाई पनि जबरजस्ती फर्किनका लागि दबाब नदिएको पनि स्पष्ट पार्नुभयो ।
दुवै देशका अधिकारीहरूले स्वदेश फर्काउन तयार पारिएका तीन हजार ५०० शरणार्थीमध्ये हरेक दिन तीन सय जनाका दरले रोहिङ्ग्या शरणार्थीहरूलाई म्यानमार फर्काउने योजना बनाएका छन् ।
