चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

समाचार

खजुरा (बाँके), ३ माघ : अत्यधिक चिसो बढेपछि बाँके नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन शैक्षिक बिदा दिइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले चिसो बढेपछि सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा माघ ४ गतेदेखि ६ गतेसम्म जाडो बिदा दिइएको उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो ।

“मौसम प्रतिकूलताका कारण अत्यधिक जाडो बढेसँगै विद्यार्थीको पठनपाठनमा असहजता हुने भएकाले बिदा दिने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो, “जाडो बिदाबाट कट्टी हुने गरी बिदा दिइएको छ ।”

महाशाखा प्रमुख थापाका अनुसार अत्यधिक जाडो तथा शीतलहर बढेसँगै विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको हो ।

नेपालगञ्जमा एक सातायता शीतलहर चलेसँगै चिसो अत्यधिक बढेको छ । शीतलहरसँगै लागेको हुस्सु र कुहिरोका कारण विद्यार्थीलाई विद्यालय जान आउन र विद्यालयमै बस्न अप्ठ्यारो भइरहेको जनगुनासो आएपछि विद्यालयमा बिदा दिइएको छ । बाँकेमा दुई सातादेखि शीतलहरसँगै कुहिरो र हुस्सु लाग्नाले जनजीवन प्रभावित भएको छ ।