वालिङ (स्याङ्जा) १० माघ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै एउटै पार्टीले बहुमत प्राप्त नगरेकाले अन्य दलसँग गठबन्धन गर्नुपरेको बताउनुभएको छ ।
कांग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई आज सदरमुकाम पुतलीबजारमा सम्बोधन गर्नुहुँदै उहाँले कुनै पनि पार्टीले बहुमत प्राप्त नगरेकाले बाध्यतावश गठबन्धन गर्नुपरेको बताउनुभयो ।
कांग्रेसको इतिहासमा स्याङ्जा क्रान्तिकारी ठाउँ भएको स्मरण गर्नुहुँदै उहाँले पार्टीलाई अझै बलियो बनाउन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । “पार्टीको इतिहासलाई सम्झेर अझै बलियो बनाउने गरी अगाडि बढ्नुहोस्”, उहाँले भन्नुभयो, “कांग्रेसले बहुमत ल्याउने गरी लाग्नुहोस् ।”
नेपालमा बहुदलीय व्यवस्था आएपछि मात्रै विकासमा परिवर्तन देखिन थालेका उहाँको भनाइ थियो । जनताले चाहे जस्तो नभएको होला तर देशमा परिवर्तन भएको सभापति देउवाले बताउनुभयो । कांग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । “हामी एकबद्ध भएर अगाडि बढौँ, थोरै बोलौँ, जुन हाम्रो सभापतिबाट सिकौँ ।”
पूर्वमहामन्त्री शशाङ्क कोइराला, सहमहामन्त्री जीवन परियार, कांग्रेस केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, प्रदीप पौडेल, सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेस स्याङ्जाका सभापति राजु थापालगायतले मन्तव्य राख्नुभएको थियो ।
