‘पर्यटन विकासको आधारभूत शर्त नै सुरक्षा हो’

आर्थिक समाचार

काठमाडौँ, १२ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको पर्यटन विकासका लागि पहिलो र आधारभूत शर्त नै शान्ति, सुरक्षा भएको बताउनुभएको छ । काठमाडौँको भृकुटीमण्डपमा आज ४५औँ पर्यटक प्रहरी दिवसका अवसरमा आयोजित समारोहमा उहाँले शान्ति, सुरक्षाको अभावमा सम्रग पर्यटन क्षेत्रको विकासको अनुभूति गर्न नसकिने उल्लेख गर्नुभयो ।

मन्त्री किरातीले पर्यटकको साथी पर्यटक प्रहरी भएको र पर्यटकको सुरक्षाका साथसाथै देशको कानुनअनुसार पर्यटकले गर्ने गतिविधिका बारेमा सचेत गराउन पर्यटक प्रहरीले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । पर्यटन क्षेत्रबाट रोजगारी सिर्जना गरी आर्थिक विकास गर्दै सुन्दर र समृद्ध समाज निर्माण गर्न सबै आबद्ध सरोकारवाला निकाय अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नगद तथा प्रशंसापत्र प्रदान गर्नुभयो । उहाँले पर्यटक प्रहरीले लामो समयदेखि देशका विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकको सेवा, सुविधा र गुनासो व्यवस्थापनका लागि गर्दै आएको कार्य सराहनीय रहेको बताउनुभयो ।

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा दीपक काफ्ले, होटल व्यवसायी सङ्घ नेपालका अध्यक्ष विनायक शाह, पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढालगायतले पर्यटक प्रहरीको भूमिकाबारे आफ्नो भनाइ राख्नुभएको थियो ।