जिपी कोइराला श्रमिक सङ्गठनको अध्यक्षमा दाहाल

राजनीति समाचार

काठमाडौँ, २७ माघ : नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जिपी कोइराला श्रमिक सङ्गठनको अध्यक्षमा सुधा दाहाल निर्वाचित हुनुभएको छ ।

सङ्गठनको आज सम्पन्न तेस्रो अधिवेशनले दाहालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सङ्गठनको उपाध्यक्षमा मात्रिका शिवाकोटी, महासचिवमा गणेश भट्टराई, सचिवमा राजु रानाभाट, कोषाध्यक्षमा राजेन्द्र दाहाल निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यमा धर्मराज भण्डारी, सञ्जय दाहाल, बलदेव तामाङ, परमेश्वर श्रेष्ठ, सुशीला घिमिरे, मीरा निरौला, सुदीप बुढाथोकी, रजनी मधिकर्मी, उत्तम गौतम, राममणि अधिकारी, कृष्ण प्रजापति, रुकमणि थापा र विष्णु खड्का निर्वाचित हुनुभएको सङ्गठनका निवर्तमान महासचिव सूर्य नेपालले जानकारी दिनुभयो ।

अधिवेशनलाई सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नं ३ का सांसद एवं प्रतिनिधिसभा अर्थ समितिका सभापति सन्तोष चालिसेले नेपालको श्रम आन्दोलनलाई अगाडि बढाउन गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको स्मरण गर्नुभयो ।

उहाँले २००३ सालमा विराटनगरमा गिरिजाबाबुलगायतका नेताहरूले मजदुर आन्दोलनको नेतृत्व गरेसँगै नेपालको मजदुर आन्दोलन अगाडि बढेको उल्लेख गर्नुभयो । विसं २०६५ मा स्थापना भएको सङ्गठनले श्रम आन्दोलनलाई अगाडि बढाउँदै आइरहेको छ ।