सडक निर्माण एवं विस्तार गर्ने मन्त्री ज्वालाको प्रतिबद्धता

आर्थिक समाचार

जानकी (बाँके), ४ माघ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले हुलाकी सडकअन्तर्गत बाँकेको खजुरा बजार क्षेत्रको एक हजार आठ सय मिटर सडक निर्माणमा आफूले सबै उपाय अपनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

हुलाकी सडकको नेपालञ्ज गुलरिया सडकखण्ड अनुगमन गर्न खजुरा आउनुभएका मन्त्री ज्वालाले स्थानीयबाट ध्यानाकर्षणपत्र लिएपछि सडक निर्माण एवं विस्तारमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । उहाँले सडक विस्तारको विषय अदालतमा विचाराधीन रहेको जानकारी दिनुभयो । न्यायालयबाट निर्णय नआएसम्म प्रतीक्षा गर्नुको विकल्प नभएको उहाँको कथन थियो ।

सडक–निर्माण एवं विस्तारको जिम्मा लिएका निर्माण कम्पनीले निर्धारित काम इमान्दारीपूर्वक नगरेमा तथा गुणस्तरहीन काम गरेमा कडाभन्दा कडा कारबाही गर्न मन्त्री ज्वालाले मन्त्रालय, सडक विभाग मातहतका कार्यालयलाई निर्देशन दिइएको स्पष्ट गर्नुभयो ।