अबको पत्रकारिता जनमुखी हुनुपर्छ : उपसभामुख राना

मुख्य समाचार राजनीति समाचार

बेलबारी (मोरङ), ७ फागुन : प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काका परिपूरक भएको बताउनुभएको छ । उहाँले अबको पत्रकारिता जनमुखी हुनुपर्ने उल्लेख गर्नुभयो ।

सुनसरीको इटहरीस्थित ‘नयन एड्भर्टाइजिङ मिडिया प्रालि’द्वारा सञ्चालित ‘प्रदेश खबर’को पहिलो वार्षिकोत्सव कार्यक्रममा उपसभामुख रानाले हरेक ठाउँमा पत्रकारको अहम भूमिका रहने बताउनुभयो । “पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काका परिपूरक हुन्”, उहाँले भन्नुभयो–“पत्रकारिता क्षेत्रमा रहेर लामो समयसम्म निरन्तर जनताका आवाज मुखरित गर्नेहरूलाई सम्मान गर्नु सकारात्मक पक्ष हो । खासगरी पत्रकारिताका माध्यमबाट भ्रष्टाचार न्यूनिकरण गर्न मद्दत पुग्छ ।”

कार्यक्रममा कोशी प्रदेशमा रहेका प्रेस स्वतन्त्रता सेनानी, क्रियाशील पत्रकारलगायतलाई सम्मान गरिएको थियो । सो अवसरमा प्रेस स्वतन्त्रता सेनानी हर्ष सुब्बा, कृष्णविनोद लम्साल, भवानी बराल, शिबबहादुर कार्की, चन्द्र भण्डारी, कृष्ण आचार्य, कौशल चेम्जोङ र सञ्जय सन्तोषी राईलाई सम्मान गरिएको थियो । उहाँहरूलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

यसैगरी उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार, २०८० बाट प्रदीपराज वन्त, साहसिक पत्रकारिता पुरस्कारबाट किशोर बुढाथोकी, उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुरेन्द्र भण्डारी र टीका खतिवडा तथा सृजनशील पत्रकारिता पुरस्कारबाट विवेक विवश रेग्मी पुरस्कृत हुनुभएको छ । उहाँहरुलाई जनही ११ हजार एक सय ५१ रुपैयाँसहित दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरिएको थियो ।

पुरस्कृत हुनुहुने वन्त लामो समयदेखि राष्ट्रिय समाचार समितिमा आवद्ध हुनुहुन्छ । उहाँ राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्षसमेत हुनुहुन्छ । यसैगरी बुढाथोकी अन्नपूर्ण पोस्टसँग आवद्ध हुनुहुन्छ । विराटनगरमा बसेर आपराधिक क्षेत्रलाई बिट बनाएर पत्रकारिता गर्दै आउनुभएका उहाँ करिब दुई दशकदेखि पत्रकारितामा आवद्ध हुनुहुन्छ । यस्तै भण्डारी करिब डेढ दशक र खतिवडा करिब एक दशकदेखि पत्रकारितामा आवद्ध हुनुहुन्छ । दुवैजना ‘प्रदेश खबर’सँग आवद्ध हुनुहुन्छ । यसैगरी रेग्मी करिब एक दशकदेखि पत्रकारिता पेशामा आवद्ध हुनुहुन्छ । उहाँ हिमाल प्रेस र राजधानी दैनिकमा आवद्ध रहुनभएको छ ।

यस्तै, पर्यटनको क्षेत्रमा योगदान पु¥याएको भन्दै नारायण पौडेल र दीपक थापालाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा चार दशकयता पत्रपत्रिका वितरण गरी समाजलाई सुसूचित गराउँदै आउनुभएका लेखराज श्रेष्ठ र सूचना प्रविधिको क्षेत्रमा योगदान पु¥याउनुभएका आरबी कटवाललाई पनि सम्मान गरिएको थियो ।

प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले क्रियाशील पत्रकारहरूलाई पुरस्कार प्रदान गर्न पाउनु खुशीको कुरा भएको बताउनुभयो । प्रदेश खबरले कोशी प्रदेशलाई प्राथमिकतामा राखेर विभिन्न प्रदेशका कार्यक्रम सम्प्रेषण गर्दै आएको उहाँको भनाइ थियो । पछिल्लो समय डिजिटल पत्रकारिताको विकाससँगै आफूहरूले सत्य, तथ्य र निष्पक्षरुपमा पत्रकारिता गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।