काठमाडौं, ५ भाद्र । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाहरूको मर्जर अभियान सहकारी अभियन्ताहरूकै पहलमा मात्र सम्भव हुने बताउनुभएको छ । सहकारी संस्थाहरूको एकीकरण सम्बन्धमा नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागले आज बिहिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।
मन्त्रालयले मर्जर अभियान थालेको बताउदै क्षेत्र, भेग, कामको प्रकृति मिल्ने सहकारीका बिचमा एकता गरिने मन्त्री अर्यालले बताउनुभयो । उहाँले सहकारी अभियन्ताहरूकै पहलमा सहकारी संस्थाहरूले मर्जर अभियान अगाडी बढ्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाइहरुकै पहलमा संस्था मिलाएर जाउ भन्ने हिसाबले हामी अगाडि बढेको हो । भरोसा तपाइहरुकै छ ।’
नेपालमा अब १०/ १२ हजार सहकारी संस्था भए पुग्ने बताउदै मन्त्री अर्यालले उक्त संख्यामा सहकारी संस्था भएको खण्डमा देश हराभरा हुने र सरकारले सोचेको सम्बृद्धिको अभियान साथ मिल्ने विश्वास व्यक्त गर्नुभयो । ती सहकारीको संख्या घटाउन मर्जरमा जानैपर्ने भन्दै मन्त्री अर्यालले तर यस अभियानमा सरकारले जर्बजस्ती मर्जरमा जाउ भन्न भने नसकिने बताउनुभयो । ‘मर्जर गर्ने भनेको मन मिल्ने सँग हो, कामको प्रकृति, स्वभाव, स्वरुप, चरित्र मिल्ने, कार्यक्षेत्र मिल्ने सहकारी बीचमा मर्जर गर्ने हो’, मन्त्री अर्यालले भन्नुभयो, ‘सहकारी संस्थाहरुलाई माथिबाट तपाईहरु मर्जरमा जानुपर्छ भनेर घोक्रेठ्याक लगाएर हुँदैन, मिल्ने वाताबरण बनाउने हाम्रो काम हो । त्यो वाताबरण हामी बनाउँछौं, तपाईहरु आफैँ स्वतस्फुर्त रुपमा मिलेर आउनुहोस् ।’
कार्यक्रममा मन्त्री अर्यालले अब सहकारी संस्थाहरू उत्पादनमा जानुपर्ने बताउनुभयो । सहकारी संस्था पनि उत्पादनमा जानुपर्ने र बजारिकरणमा जान आवश्यक रहेको भन्दै उहाँले अबको ५ वर्षमा सहकारी क्षेत्रबाट अर्थतन्त्रमा १० प्रतिशत योगदान आवश्यक रहेको उल्लेख गर्दै सहकारी क्षेत्रबाट रोजगारी बढाउन पनि आवश्यक रहेको बताउनुभयो । ‘अब सहकारीले उत्पादनमै जोड दिने हो । एउटा सहकारीले अनिवार्य रुपमा एउटा उद्योग, व्यवसाय गर्नुपर्छ । व्यवसायमा नलागेर धरै छैन । यसका लागि पनि सहकारीको मर्जर अभियान थालेका हौ । मर्जर अभियानलाई तिब्र ढंगले अगाडि बढाउ’, उहाँले भन्नुभयो ।
सहकारी अभियानले केही नयाँपन, नयाँ अभ्यासको खोजी गरेको भन्दै उहाँले सरकार त्यही अभियानमा लागेको बताउनुभयो ।
हिजोको सहकारी र आजको सहकारीमा धेरै फरक भएको भन्दै उहाँले आज करोडौं रकम खेलाउने सहकारी आजको आवश्यकताअनुसार अगाडी बढ्न आवश्यक भएको बताउनुभयो ।
सहकारी अभियानमा केही संस्थाको बदमासीका कारण प्रश्नचिन्ह उठेको भन्दै उहाँले त्यही समस्यालाई समाधान गर्न कोपोमिस प्रणाली लागु गरिएको बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, ‘कुन संस्थामा केछ भनेर हेर्न कोपोमिस प्रणाली लागू गरिएको छ । यो कसैलाई कारबाही गर्न होइन सुशासन कायम गर्न, पारदर्शी बनाउन यो सफ्टवेयर लागू गरेका हौ । यसमा तपाईं अभियन्ताहरुले पनि सहयोग गर्नुपर्यो ।’
को व्यक्तिले कुन संस्थामा बसेर कहाँ के गर्यो भन्ने कुरा हेर्न आवश्यक रहेको भन्दै उहाँले त्यही बद्मास व्यक्तिले फेरि अर्को ठाउँमा बसेर बदमासी नगरोस् भनेर सरकार र अभियन्ता सबै लाग्नुपर्ने बताउनुभयो । कर्जा सूचना केन्द्रलाई त्यहीँ ढंगले विकास गर्न खोजिएको उहाँको भनाइ थियो ।
आजको आवश्यकता समृद्धिमा योगदान दिन सक्ने सहकारी संस्था भएको भन्दै उहाँले धेरै मान्छेलाई रोजगारी दिने र आत्मनिर्भर बनाउने जिम्मेवारी अब सहकारीकै भएको बताउनुभयो ।
