‘जनताको आधारभूत आवश्यकता पूरा गर्ने योजनामा जोड दिउँ’

राजनीति समाचार

कर्णाली, १२ फागुनः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले जनताको आधारभूत आवश्यकता पूरा गर्ने योजना निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कर्णाली प्रदेश योजना आयोग वीरेन्द्रनगर सुर्खेतद्वारा प्रथम पञ्चवर्षीय समीक्षा र दोस्रो पञ्चवर्षीय योजना तर्जुमाका लागि आज यहाँ आयोजित ‘आवधिक योजना तर्जुमा निर्देशक समितिको विस्तारित बैठक’लाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले जनताका आवश्यकतालाई केन्द्र भागमा राखेर योजना बनाउने कार्यलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताका आवश्यकतामा आधारित भएर उपलब्ध स्रोतसाधनको उपयोग गरी उनीहरुको आर्थिक सम्पन्नतामार्फत सुख र समाजिक न्यायमार्फत खुसी प्राप्त हुने यथार्थपरक योजना बनाऔँ । संविधानमा उल्लेखित समाजवादोन्मुख व्यवस्था प्रतिनिधित्व गर्ने योजना बनाई नीति तथा कार्यक्रम र बजेटमार्फत यसको सम्बोधनमा ध्यान दिउँ ।” कर्णाली प्राकृतिक स्रोतसाधनले सम्पन्न भए पनि जनताको जनजीवन सुधार हुन सकेको उहाँको भनाइ थियो ।

प्राकृतिक स्रोतसाधनको उपयोग, वन पैदवार र कृषिमा आधारित उद्यमशीलतामार्फत रोजगारी सिर्जना हुनुले दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पुग्ने भन्दै उहाँले उत्पादनका कार्यमा भाग नलिएसम्म रोजगारी सम्भव नहुने उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशका प्रमुख सचिव चूडामणि पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि सरकारले दोस्रो पञ्चवर्षीय योजना तयार भइसक्ने जनाउनुभयो । उहाँका अनुसार सबै सरोकारवालाबाट सुझाव लिएर योजना निर्माण गरिनेछ । बैठकमा पञ्चवर्षीय योजना कार्यान्वयनमा विषयगत मन्त्रालयका तर्फबाट प्राप्त उपलब्धि तथा चुनौतीका विषयमा समीक्षा भएको थियो ।