बर्दिया, ५ भदौ । प्रदेश नं ५ को आर्थिक समृद्धिका लागि प्रदेश सरकारले हरित क्रान्ति र पर्यटन विकासमार्फत अगाडि बढ्ने योजना बनाएको मुख्यमन्त्री शङ्कर पोखरेलले बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बर्दियाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ मा हरित क्रान्तिको नेतृत्व बर्दिया जिल्लाले गर्ने बताउँदै यसका लागि यहाँ उर्बर र उत्पादनशील माटो उपयुक्त रहेको बताउनुभयो । किसानका खेतमा बाह्रै महीना सिँचाइ गर्न सक्ने गरी भेरी बबई ड्राइर्भसनबाट आगामी हिउँदसम्म भेरी नदीको पानी बबईमा नियमित खसाल्ने योजना बनाएर काम भइरहेको मुख्यमन्त्री पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भेरीबबई ड्राइर्भसनजस्तो जनताको जीवनको भविष्यसँग जोडिने योजनालाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ ।”
यस वर्ष कृषि क्षेत्रको व्यावसायिकरूपमा विकास गर्न कृषि रोजगारको योजना बनाएर अगाडि बढेको बताउँदै उहाँले लगानी भएका किसानले ठूला कृषि फार्म सञ्चालन गर्ने र कृषि सीप भएका, जमीन नभएका किसानलाई सरकारले कृषि रोजगार दिने कार्यक्रम रहेको जानकारी गराउनुभयो ।
मुख्यमन्त्री पोखरेलले पर्यटन क्षेत्रको विकासका लागि बर्दिया जिल्ला महत्वपूर्ण रहेकामा जोड दिनुभयो । मुख्यतः बाघ संरक्षण र सङ्ख्या वृद्धिमा महत्वपूर्ण योगदान गरिरहेको बर्दिया राष्ट्रिय निकुञ्जलाई पर्यटनको मुख्य गन्तव्यका रूपमा विकास गर्न योजना कार्यान्वयन भइरहेको र यसका लागि प्रदेश सरकारले जस्तो अवस्थामा पनि बजेटको कमी हुन नदिने स्पष्ट गर्नुभयो ।
देशलाई सङ्घीयता आवश्यक रहेको र यसको अभ्यासले सकारात्मक प्रभाव देखिन थालेको जिकिर गर्दै मुख्यमन्त्री पोखरेलले यसको अनुभव हुने गरी यस वर्षको अन्त्यसम्ममा देखिने बताउनुभयो । प्रदेश नं ५ को एक वर्ष अगाडि आर्थिक वृद्धिदर ६.६ प्रतिशत रहेकामा यस वर्ष बढेर ७.४ प्रतिशत पुगेको अवस्थाले पनि प्रगति भइरहेको प्रष्ट भएको उहाँको भनाइ थियो ।
