भारतको पटनामा शिख धर्मावलम्बीका प्रवर्तक गुरु नानकको ५५०औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । समाजमा विद्यमान जातीय विभेद्को अन्त्य गरी सामाजिक न्याय, समानता तथा भ्रातृत्व कायम गर्ने सन्देशका साथ यहाँ कीर्तन आयोजना गरिएको छ । गुरु नानकले समाजमा शान्ति, सद्भाव तथा धर्म रक्षाका लागि मार्गदर्शन गर्नुभएको थियो । उहाँले मानव कल्याणका लागि सनातन धर्मको रक्षा र सबै धर्मलाई सद्भाव राख्न प्रेरित गर्नुभएको श्री गुरु नानक सेवा प्रतिष्ठान शोध केन्द्रका अध्यक्ष जसपाल सिंहले बताउनुभयो । विगतमा मुगल सम्राटसँगको युद्धमा शिख गुरुहरुले धर्म रक्षाका लागि प्रयोग गरेका विभिन्न अस्त्र, धार्मिक ग्रन्थलगायतको यहाँ प्रदर्शनी गरिएको छ । नेपाली शिख धर्मावलम्बीलाई सामूहिक रुपमा दर्शन गराइएको छ । ऐतिहासिक तथा धार्मिकस्थलका रुपमा रहेको उक्त स्थानको नेपाली अनुयायीलाई भ्रमण गराइएको छ ।
