‘स्वस्थ र निरोगी जनशक्ति उत्पादनका लागि खेलकुद’

खेलकुद समाचार स्वास्थ्य/शिक्षा

कास्की, २८ वैशाख ः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्वस्थ र निरोगी जनशक्ति उत्पादनका लागि खेलकुद महत्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्टस् अवार्ड समारोहमा उहाँले स्वस्थ र निरोगी जनशक्ति उत्पादनका लागि खेलकुद महत्वपूर्ण रहेकाले सरकारले पनि खेल क्षेत्रको विकासमा जोड दिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्वस्थ जनशक्तिले राष्ट्र निर्माणको महाअभियानमा योगदान गर्दछ । त्यसैले हजारौँ अस्पतालभन्दा सबैका लागि खेल खेल्ने एउटा योग्य स्टेडियम आवश्यक हुन्छ भन्ने मान्यता छ । हामीले पनि स्वस्थ्य र निरोगी रहन खेलकुद तथा व्यायामलाई प्राथमिकता दिनुपर्छ ।”

मुख्यमन्त्री अधिकारीले पोखरा स्पोर्टस् अवार्ड खेलकुदको विकासका लागि प्रेरणादायी रहेको समेत बताउनुभयो । खेलाडी तथा खेलकुद क्षेत्रमा लागेका व्यक्तिहरू देशको शान र इज्जतका रूपमा रहेका खेलाडीहरूको सम्मान जरूरी रहेको उहाँको भनाइ छ ।
“हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा जुनसुकै विधामा पनि प्रतिस्पर्धी बन्ने कोसिस गर्नुपर्दछ । स्वदेश तथा विदेशमा जहाँ भए पनि नेपालको खेल जगत्लाई अत्यन्त माया गरेर नेपालाई अन्तर्राष्ट्रिय ख्याती गराउनेप्रति नमन गर्दछु । सरकारको तर्फबाट हार्दिक धन्यवाद र कृतज्ञता छ”, मुख्यमन्त्री अधिकारीले भन्नुभयो ।

पोखरा स्पोर्टस् अवार्डअन्तर्गत विभिन्न सात विधामा उत्कृष्ट हुन सफल खेलाडी, खेल प्रशिक्षक, खेलकुद सङ्घ संस्थालगायतलाई अवार्ड प्रदान गरिएको थियो ।