सल्लेरी (सोलुखुम्बु), १ जेठ : सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–३ पञ्चनका अग्निपीडित परिवारलाई रू तीन लाखभन्दा धेरै आर्थिक सहयोग गरिएको छ ।
युवाहरुको सक्रियतामा विभिन्न व्यक्तिहरुबाट सङ्कलन गरिएको रू तीन लाख तीन हजार छ सय रकम अग्निपीडित परिवारलाई वडामा नै पुगेर हस्तान्तरण गरिएको हो ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा तरुण दल केन्द्रीय सदस्य नवीन थापाको नेतृत्वमा सङ्कलन गरिएको उक्त रकम नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पाले हस्तान्तरण गर्नुभयो । आगलागीबाट घर गुमाएका पूर्णबहादुर भण्डारी, हस्ती माया राई, बुद्धि माया सार्कीको परिवारलाई नगद रू ५५÷५५ हजार, निशान्त राई, दिलकुमार राई र पारशमणि राईको परिवारलाई रू २५÷२५ हजार प्रदान गरिएको अभियान्ता नवीन थापाले जानकारी दिनुभयो ।
यस्तै गोठ घाँस तथा पशु क्षति भएका कालेबहादुर अधिकारीलाई रू १० हजार, सेतिदेवी कार्की, वुद्धिबहादुर कार्की, लाखधन राई र वसन्त राईलाई नगद रू पाँच÷पाँच हजार प्रदान गरिएको छ । आगलागी नियन्त्रणको क्रममा घाइते भएका
सनबहादुर सार्कीलाई रू पाँच हजार र हिराबहादुर विश्वकर्मालाई रू चार हजार प्रदान गरिएको संयोजक थापाले बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौला र वडाध्यक्ष इन्द्रमणि दाहालको पनि उपस्थिति रहेको थियो । गत वैशाख १८ गते जङ्गलको डढेलो बस्तीमा प्रवेश गर्दा पञ्चनमा १० घरसहित गोठ तथा मतान जलेर नष्ट भएको थियो ।
