पत्रकारलाई फोटो तथा भिडियोग्राफी तालिम

समाचार

खोटाङ, ५ जेठः जिल्लाका पत्रकारलाई प्रविधिमा पोख्त बनाउन फोटो तथा भिडियोग्राफीसम्बन्धी १० दिने आधारभूत एवं क्षमता विकास तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग एवं एभरेष्ट फिल्म एकेडेमी काठमाडौँको प्राविधिक सहयोगमा हिमालय इन्स्टिच्युट दिक्तेल खोटाङले तालिम आयोजना गरेको हो ।

बढ्दो प्रविधिको विकाससँगै पत्रकार तथा फोटो स्टुडियो व्यावसायीलाई समयानुकूल पोख्त तथा आत्मनिर्भर बनाउन फोटो तथा भिडियोग्राफी तालिमको आयोजना गरिएको आयोजक हिमालय इन्स्टिच्युटका सञ्चालक अजय बस्नेतले बताउनुभएको छ ।

“जिल्लाका सीप तथा तालिमको अभावमा युवापुस्ता विदेशिनुपर्ने बाध्यता छ । हामीले जिल्लाका हरेक युवालाई प्रविधिमैत्री बनाउँदै आफ्नै ठाउँमा बसेर व्यावसायिक काम गर्ने वातावरण सिर्जना गर्न विगत चार वर्षदेखि विभिन्न क्षेत्रमा तालिम दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “यसपटक पत्रकार र फोटो स्टुडियो व्यावसायीका लागि फोटो तथा भिडियोग्राफीसम्बन्धी आधारभूत एवं क्षमता विकास तालिमको आयोजना गरिएको छ । यसले फोटो तथा भिडियोग्राफीमै भविष्य खोज्नेका लागि थोरै भए पनि सहयोग पुग्नेछ ।”

तालिममा जिल्लामा क्रियाशील पत्रकार र फोटो स्टुडियो व्यवसायी गरी २५ जनाको सहभागिता छ । दिक्तेलस्थित इन्स्टिच्युटको आफ्नै कार्यालयमा आयोजना गरिएको तालिममा एभरेष्ट फिल्म एकेडेमीका फोटो तथा भिडियोग्राफर विकास सिटौला र सौगन्ध डङ्गोलले सहजीकरण गरिरहनुभएको छ ।

तालिमको औपचारिक उद्घाटन आज जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र एभरेष्ट फिल्म एकेडेमीका अध्यक्ष सुनिल थापाले संयुक्तरुपमा गर्नुभयो । कार्यक्रमका वक्ताहरूले जिल्लामा पहिलोपटक आयोजना गरिएको तालिम प्रभावकारी हुनेमा विश्वास व्यक्त गरेका छन् ।

एकेडेमीका अध्यक्ष एवं कलाकार थापाले तालिममा सहभागीमध्ये उत्कृष्ट एकजनालाई एकेडेमीमा निःशुल्क एड्भान्स किसिमको तालिम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसका लागि नगरपालिकाको सिफारिस अनिवार्य लिएको हुनुपर्ने उहाँले बताउनुभएको छ ।