काठमाडौँ, ७ जेठ : दक्षिय एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई सक्रिय बनाउनुपर्नेमा जोड दिइएको छ ।
मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘दक्षिण एसियाको भविष्य, अवसर, चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य डा राजन भट्टराईले सार्कलाई सक्रिय बनाउन ठाउँ परिवर्तन गरेर भए पनि शिखर सम्मेलन गर्नुपर्ने बताउनुभयो । नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र भएकाले सक्रिय बनाउन पहल गर्नुपर्ने उहाँको भनाइ थियो ।
“सार्कलाई पहिलाकै अवस्थामा फर्काउनका लागि नेपालले अध्यक्ष राष्ट्रको हैसिलयले पहल गर्नुपर्दछ”, डा भट्टराईले भन्नुभयो– “हामी सार्क सदस्य देशहरुलाई मिलाएर लैजान सक्छौँ ।” नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले तयार पारेको प्रतिवेदन भारतमा निर्वाचन सकिएपछि बुझाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
परराष्ट्रविद् डा निश्चलनाथ पाण्डेले नेपाल अध्यक्ष राष्ट्र भएकाले सार्कका गतिविधि अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
मलेसियाका लागि नेपालका पूर्वराजदूत उदयराज पाण्डेले सार्कको नेपाल अध्यक्ष राष्ट्र भएकाले उचित निर्णय गरेर सार्कलाई सक्रिय गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सार्कको एजेण्डा लिएर यसमा आवद्ध सबै देशको भ्रमण गर्नुपर्ने सुझाव दिनुभयो ।
पूर्व परराष्ट्रमन्त्री विमला राई पौडेलले नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकाले शिखर सम्मेलन गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालले आफ्नो हितलाई ख्याल गरेर सार्कजस्तै अन्य सङ्गठनमा पनि आवद्ध भएर फाइदा लिनुपर्ने बताउनुभयो ।
परराष्ट्रविद् शम्भुराम सिंखडाले नागरिक समाज, मिडियाले दवाद दिएर भए पनि सार्कलाई सक्रिय बनाउनुुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य शर्मिला कार्की, फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेलगायतले सार्क सक्रिय नहुँदा नेपाललाई घाटा भएकाले यसलाई सक्रिय बनाउनुपर्नेमा जोड दिएका थिए ।
