ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका भित्रिने नाकाहरुमा ट्राफिक जनचेतनामूलक कक्षा सञ्चालन गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका भित्रिने तथा उपत्यकाबाट बाहिरिने चालक, सहचालक र यात्रुलाई लक्षित गरेर कक्षा सञ्चालन गर्न लागेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले सडक सभ्यता अभिवृद्धिका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । “उपत्यका भित्रिने प्रत्येक नाकामा कक्षा सञ्चालन गर्दा धेरै यात्रु तथा चालकलाई ट्राफिक जनचेतना हुने भएकाले उक्त अभियान सञ्चालन गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । महाशाखाले थानकोट, जगाती, दक्षिणकाली र नागार्जुन नाकामा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक अडियो (जिङ्गल) बजाउने, यात्रुलाई पर्चा पम्प्लेट बाँड्ने तथा बसमा हर्न निषेधसम्बन्धी स्टिकर टाँस्नेछ । महाशाखाले यसअघि काठमाडौँ उपत्यकाभित्र चल्ने सवारी साधनलाई ट्राफिक जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको थियो । यस्तै, मादकपदार्थ सेवन र लेन अनुशासन नमान्ने सवारी साधनलाई कारवाही र ट्राफिक जनचेतनामूलक कक्षासमेत सञ्चालन गर्दै आएको छ । हाल दैनिक विभिन्न नाका हुँदै एक लाख व्यक्ति उपत्यका भित्रिने र ८० हजार हाराहारीमा मानिसहरु बाहिरिने गरेको महाशाखाले जनाएको छ ।
