विजेता खेलाडी प्रदेश सरकारबाट सम्मान

खेलकुद समाचार

कास्की, २१ असारः गण्डकी प्रदेश सरकारले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका विभिन्न खेलाडीलाई आज सम्मान गरेको छ ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन गर्नका लागि जनही नगद रु २० हजार, माला र सम्मानपत्रबाट सम्मान गरेको हो । सम्मानित हुने खेलाडीमा भिमाद नगरपालिका–६, तनहुँकी मोर्डन पेन्टाथलन खेलकी विनिता सार्की, पोखरा–६ का ह्याण्डवल खेलका विशाल बस्नेत, बागलुङ कालिका–४, बागलुङका जिम्नास्टिक खेलाडी राजेश बाँस्कोटा, दोलखाको गौरी शङ्कर गाउँपालिका–७ की हक्कीकी पवित्रा गुरुङ, बाग्लुङको जैमिनी नगरपालिका–३ का उसुका खेलाडी योगेन्द्र थापा, स्याङ्जा चापाकोट नगरपालिका–७ की तेक्वान्दो खेलकी रेखमाया गुरुङ रहनुभएको छ ।

यसैगरी पोखरा–२६ का फेन्सिङका सन्दीप बराल, असुरैना–२, रुपन्देहीकी बक्सिङ (प्रशिक्षक) प्रियाङ्का बर्मा, पोखरा –१६ का बडीविल्डङ खेलाडी विवेक हमाल, स्याङ्जा पुतली बजार नगरपालिका–५ का मेन्स स्पोर्टस फिजिकका खेलाडी प्रदीप रेग्मी, पोखरा–२० का सुटिङ खेलाडी विजय कार्की, बेलाहरा–३ धनकुटाकी आर्चरी खेलाडी मोनिका राना मगर, पोखरा–१८ की प्याराग्लाइडिङकी रिता श्रेष्ठ थापा रहनुभएको छ ।

प्रदेश सरकारबाट सम्मानित अन्य खेलाडीमा नवलपरासीको देवचुली नगरपालिका–१ सेपाक ताक्रो खेलका विजय महता, तनहुँको व्यास नगरपालिका–६ का करातेका मनोज श्रेष्ठ, कास्कीको भदौरे तामागी–९ का आइटिएफ तेक्वान्दोका सुरज सुनार, तनहुँ भिमाद नगरपालिका–९ की ऋषिसरा थापा, पोखरा–१६ का खोखो खेलका चित्रबहादुर थापा, हंसपुर–५ कास्कीका व्याडमिन्टन खेलाडी पुनम गुरुङ, कास्की घाचोकका कन्ट्याक्ट कराँतेका रुपक नेपाली, स्याङजाकी टेबुल टेनिस खेलाडी मुना थापा रहनुभएको छ ।

सम्मान कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले खेलाडीलाई उत्साह थप्ने काम गरेको उल्लेख गर्नुभयो । खेलबाट भविष्य बनाउने बाटो खुुलेको र प्रदेश सरकारले पनि खेलकुदमा थुुप्रै लगानी गरेको भनाइ उहाँको छ ।

मन्त्रालयका सचिव प्रकाश पौडेलले प्रोत्साहन तथा सम्मानका लागि सबै सेक्टरका खेलाडीलाई समेट्ने प्रयास गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा मन्त्रालयले मोडालिटी परिवर्तन गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । खेलकुद प्रतियोगितालाई व्यवस्थित बनाउन प्रदेश सरकार लागि परेको भनाइ उहाँको छ ।

प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले पिडा बोकेर खेलाडीले जिविकोपार्जन गर्ने अवस्थाको सिर्जना नहुने गरी नै काम भइरहेको बताउनुभयो । आकस्मिक बीमाको सुरुवात गर्दै खेलाडीलाई प्रोत्साहन थप्ने काम भएको भनाइ उहाँको छ ।